बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा तरल अक्सिजनको अभाव




बुटवल । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा तरल अक्सिजनको अभाव भएको छ । दैनिक आवश्यकताभन्दा ३० वटा अक्सिजन सिलिण्डर कम आपूर्ती भइरहेकाले अस्पतालले सञ्चालन गरेको कोरोना विषेश अस्थायी अस्पतालमा उपचाररतः संक्रमितहरुको उपचारमा असहज स्थिती आएको अस्पतालले जनाएको छ ।

अस्पतालका मेडिकल स्टोर इन्चार्ज रुपलाल पन्थीका अनुसार अस्पतालमा ‘अक्सिजन व्यवस्थापन गर्न गाह्रो हुँदा एकदमै क्रिटिकल समस्यामा पुगिएको छ ।’




उनका अनुसार अस्पतालको दैनिक आवश्यकता अहिले प्रतिदिन एक सय ५० सिलिण्डर हो तर एक सय २० सिलिण्डर अक्सिजन मात्रै आपूर्ती भइरहेको छ । आवश्यकता अनुसार अक्सिजन नहुँदा कोरोना संक्रमणको गम्भीर लक्षणसहित आइसीयू/एचडियूमा उपचार गराइरहेका १३ जना र भेन्टिलेटरमा राखिएका दुई जनाको उपचारमा समस्या देखिएको छ ।

संक्रामक रोग विशेषज्ञले कोरोना भाइरसले फोक्सोमा क्षती पुर्‍याई रगतमा अक्सिजन प्रवाह घटाउने भएकाले लक्षण देखिएका बिरामीहरुलाई अक्सिजन आपूर्ती गर्न सकेमा मात्रै पनि मृत्युदर निकै कम गर्न सकिने बताइरहेका छन् ।

प्रादेशिक अस्पतालमा एक महिनाअघिसम्म २५ सिलिन्डर अक्सिजन उत्पादन गरिरहेको अक्सिजन जेनेरेशन प्लान्ट(अक्सिजन उत्पादन गर्ने मेसिन)ले काम गर्न छाडेपछि समस्या झन् टड्कारो बनेको हो ।

प्लान्टको कम्प्रेशर वालमा चुहावट भएर कम शुद्धता भएको अक्सिजन उत्पादन हुन थालेपछि प्लान्ट बन्द गरिएको छ ।
रोटरी क्लब अफ बुटवलको सहयोगमा काठमाडौंको मेडिअक्सी प्रालिले जडान गरिदिएको अक्सिजन प्लान्ट अहिले बिग्रिएपछि कम्पनीले पुनः निर्माणका लागि ध्यान नदिएको अस्पतालको आरोप छ ।

मेडिकल स्टोर इन्चार्ज पन्थीले भने–‘सप्लायर्स(मेडिअक्सी)ले ‘केअरलेस’ गरिरहेकाले यस्तो भएको हो । हामी उनीहरुसँग सम्पर्कमा नै छौं । आउने शुक्रबार आएर बनाइदिने भनिरहेका छन् ।’

यसो त प्लान्टले फेरि अक्सिजन ‘जेनेरेशन’ गर्न सुरु गरेपनि अभाव भने परिपूर्ती हुन तत्काल अझै दैनिक पाँच सिलिन्डरको आवश्यक पर्नेछ । हाललाई अस्पताललाई नेपालगञ्जको एचओ अक्सिजन कम्पनीले तरल अक्सिजनका सिलिन्डरहरु आपूर्ती गरिरहेको छ । कम्पनीले अस्पतालले माग गरेजति अक्सिजन सप्लाई गर्न नसक्ने बताइसकेको छ ।

यता प्रदेश सरकारले अक्सिजनको जोहो गरिदिन प्रदेशमा सञ्चालित चार वटा अक्सिजन उत्पादक उद्योगसँग अनुरोध गरेको छ । प्रदेशका अस्पतालहरुमा अक्सिजनको अभाव हुन थालेपछि उद्योगहरुको क्षमता बढाई अक्सिजन उत्पादन बढाउन आग्रह गरिएको प्रदेशका स्वास्थ्य मन्त्री लिला गिरीले बताए ।



सम्बन्धित
Loading...