प्रशासन कार्यालयमै सेवाग्राहीको भीड : लकडाउन हुने डरले बढे सेवा लिने

भरतपुर । कोरोना जोखिम नियन्त्रणका लागि जिल्लास्थित सङ्कट व्यवस्थापन केन्द्र छ, जसको नेतृत्व प्रमुख जिल्ला अधिकारीले गर्छन् । कोरोना जोखिम अवस्था हेरेर निर्णय लिने अधिकार प्राप्त व्यक्ति प्रजिअ हुन् । तर, उनकै कार्यालयमा सेवाग्राहीको भीड देख्दा अचम्म लाग्छ ! सेवाग्राहीले मास्क लगाए पनि भौतिक दूरी भने थिएन ।
मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय भरतपुर पुग्दा नागरिकता बनाउनेको भीड थियो । भवनको माथिल्लो कक्षमा प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने जिल्लामा के–कसरी कोरोना जोखिम कम गर्न सकिन्छ भनी छलफलमा व्यस्त थिए । तर, उनकै भवनको तल्लो भाग अर्थात् नागरिकता फाँटमा भने सेवाग्राही नागरिकता लिनका लागि ठेलमठेल गरिरहेका थिए ।
फाँटबाट नियमित सूचना पनि भइरहेको थियो– ‘कृपया भीडभाड नगरिदिनुहोला, सामाजिक दूरी कायम गर्नुहोला, हामी माइकबाट नाम बोलाउँछौँ अनि सम्बन्धित झ्यालमा आएर सेवा लिनुहोला ।’ तर, मानिसहरु सुनेर पनि नसुनेझैँ र बुझेर पनि नबुझेझैँ झुम्मिएका थिए ।
‘लकडाउन र निषेधाज्ञा भयो भने कति महिनापछि काम हुने हो थाहा छैन, बरू अहिले नै जसोतसो सेवा लिन पाए हुन्थ्यो भनेर बसेका हौँ’, राप्ती–८ का किसान राईले भने । चितवनका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले सेवाग्राहीको चाप अब भने बिस्तारै कम हुने बताए । अघिल्ला दिनहरुको तुलनामा कम भएको उल्लेख गर्दै उनले भने, ‘नागरिक सचेतना नै यस्तो अवस्थामा मह¤वपूर्ण कुरा हो । नागरिकमा कोरोना जोखिमबारे जानकारी छ, तर नियम पालना हुन्न ।’
कोरोनाको जोखिम बढ्दै जाँदा जिल्लास्थित सरकारी कार्यालयहरुमा सेवाग्राहीको भीड थियो । मंगलबार जिल्लास्थित मालपोत कार्यालयमा पुग्दा त्यहाँ पनि सेवाग्राही धकेलाधकेल गरेर सेवा लिइरहेका थिए । सेवाग्राहीको भीड देखेर कर्मचारी नै आत्तिएका थिए ।