गण्डकी प्रदेशः मोबाइल अफ गरी २ सांसद गायब, मतदान प्रभावित
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमाथि मतदान हुने बैठक जारी रहेका बेला २ जना सांसद अनुपस्थित भएका छन् ।
अनुपस्थित हुनेमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाही र स्वतन्त्र सांसद राजीव गुरुङ रहेका छन् । दुवैको मोबाइल अफ छ। कुनै सांसदसँग उनीहरुको सम्पर्क छैन।
अविश्वास प्रस्तावमाथि आजै बुधबार निर्णय हुने गरी गण्डकी प्रदेश सभाको बैठक सुरु भएको हो। अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने कार्यसूची प्रकाशन गरी बैठक पौने २ बजे सुरु भएको थियो।
बैठकमा अहिले सांसदले अविश्वास प्रस्तावमाथि छलफलमा भाग लिएका छन्। केही सांसदले बोलिसकेपछि संसद बैठक २० मिनेटका लागि स्थगितसमेत भएको छ। सांसदहरुले बोलेर सकिएपछि मुख्यमन्त्रीले जवाफ दिने कार्यसूची छ।
छलफल सकिएपछि मत विभाजन गर्ने तयारी छ । यद्यपि जनमोर्चा र स्वतन्त्रतर्फबाट निर्वाचित सांसद दीपक मनाङले बैठकमा अनुपस्थित रहेकोले मत विभाजन हुन÷नहुने निश्चित छैन् । संसद सचिवालयका अनुसार दुई सांसदका कारण आजको मतदान कार्यसूची प्रभावित हुन सक्छ ।
वैशाख २ गते संसद सचिवालयमा दर्ता अविश्वास प्रस्तावमा २८ सांसदले हस्ताक्षर गरेका छन्। कांग्रेसका १५, माओवादीका ११ र जनता समाजवादी पार्टीका २ सांसदले हस्ताक्षर गरेका हुन्।
१२ सांसद रहेको माओवादीबाट १ जनचाहिँ सभामुख छन्। ३ सांसद रहेको राष्ट्रिय जनमोर्चाको पार्टी केन्द्रले आफ्ना सांसदलाई अविश्वासको पक्षमा मतदान गर्न निर्देशन गरेको छ।