चितवनमा १५ दिने निषेधाज्ञाको पहिलो दिन यस्तो रह्यो (फोटो फिचर)
भरतपुर । जिल्ला प्रशासन कार्यालय चितवनले बैशाख १६ गते राती १२ बजेदेखि ३१ राती १२ बजेसम्मको लागि निषेधाज्ञा लगाएको छ । १५ दिने निषेधाज्ञाको पहिलो दिन आज जिल्लाको मुख्य बजार र यातायात क्षेत्र ठप्प बन्न पुग्यो ।
निषेधाज्ञा कार्यान्वयनका लागि बजार क्षेत्र र चोक–चोकमा शसस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन् । मालबहाक सवारी साधन, स्वास्थ्य सामग्री बोकेका सवारी साधन, प्रेस, इन्टरनेट, पेट्रोलियम पदार्थ, तरकारी, दुग्धजन्य पदार्थ बोकेका सवारी साधनहरु सञ्चालन भइरहेका छन् ।
नवलपुरबाट चितवन प्रवेश गर्ने सवारी साधनलाई नारायणी पुलमा शसस्त्र प्रहरीले कडाईका साथ चेकजाँच गरेको छ ।
अत्यावश्यक काम नपरी हिँड्नेहरुलाई पुलबाटै फिर्ता पठाइएको छ ।
बैंक तथा वित्तिय संस्थाहरु सञ्चालनमा आएपनि सेवाग्राही भने त्यहाँसम्म पुग्न सकेका छैनन् । अत्यावश्यक खाद्यान्नका पसलहरु बिहान ६ बजेदेखि ९ बजेसम्म खोलिएका थिए ।
आज बिहान ६ बजेदेखि १० बजेसम्मको अवधिमा निषेधाज्ञा उल्लघंन गर्ने मोटरसाइकल लगायत साना ठूला ३५१ वटा सवारी साधन र ९५२ जना पैदल यात्रीलाई एक घण्टा होल्डिङ सेन्टरमा राखेर सम्झाइ बुझाई गरी छाडिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज गिरीले बताए ।
उनीहरुलाई भरतपुर महानगर लगायत टाँडी, खैरहनी, गितानगरका विभिन्न स्थानमा होल्ड गराएर छाडिएको उनले बताए ।


