ठिमुरा पुलबारे छानबिन समितिको निष्कर्ष : ‘ठेकेदारको लापर्बाहीले भत्कियो पुल
भरतपुर । भरतपुर महानगरपालिका–१, ठिमुरा र देवघाट गाउँपालिका–५, घिनाटार जोड्ने गरी त्रिशूली नदीमाथि निर्माण भएको पुल ठेकेदारकै लापर्बाहीले भत्किएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।
ठेकेदारको लापर्बाही र ढिलासुस्तीले गर्दा पुल भत्किएको निष्कर्षसहित छानबिन समितिले सडक विभागमा प्रतिवेदन बुझाएको छ । पुलको ढलान भएको १५औँ दिनमा तार तानेर ढलानलाई सन्तुलनमा राख्ने काम (प्रिस्टेस) गर्नुपर्नेमा एकैचोटि २८औँ दिनमा ‘प्रिस्टेस’ गर्न खोज्दा पुल भत्किएको सडक विभागका महानिर्देशक इन्जिनियर अर्जुनजंग थापाले बताए ।
‘ठेकेदारको त्रुटिका कारण नै पुल भत्किएको पाइएको छ’, उनले भने, ‘१५ दिनमा पुलको प्रिस्टेसिङ गरेको भए भत्किँदैनथ्यो । ठेकेदारले एकैचोटि २८ दिनमा प्रिस्टेस गर्न खोज्दा चैत २४ मा दुर्घटना भएको प्रतिवेदन छ ।’ उक्त पुल चैत २४ मा पहिलोपटक र वैशाख १२ गते दोस्रोपटक भत्किएको थियो ।
‘प्रिस्टेस’ गर्नका लागि पुलको ढलानको बीच–बीचमा पाइपहरु राखिएको हुन्छ । ढलानलाई सन्तुलनमा राख्न ढलान गरेको १५आँै दिनमा पाइपमा केबल तार (झोलुङ्गे पुलमा प्रयोग हुने तार) घुसाएर तान्नुपर्छ ।
नेपालमा पछिल्लो ६ वर्षदेखि प्रिस्टेस विधिले पुल निर्माण भइरहेको उनले बताए । यस विधिले पुलको एक खण्डमा ६० मिटरसम्म लामो ढलान निर्माण गर्न सकिन्छ । तार नराखी गरेको आरसिसी ढलानले २५ मिटरको मात्रै स्ल्याब निर्माण गर्न सकिने उनी बताउँछन् ।
ठेकेदारको लापर्बाहीले नै पुल भत्किएकाले त्यसको सम्पूर्ण क्षति ठेकेदारले नै व्यहोर्नुपर्ने उनले बताए । ‘सम्पूर्ण खर्च ठेकेदारले नै व्यहोर्छ, त्यसमा सरकारले खर्च गर्दैन’, महानिर्देशक थापाले भने । यद्यपि, पुल र कामदारको बिमा गरिएको छ । बिमाले नै भत्किएको पुल र पुलबाट खसेर मृत्यु भएका कामदारलाई क्षतिपूर्ति दिनेछ ।
पुल निर्माणमा यतिधेरै लापर्बाही हुँदा पनि विभागले भने ठेकेदारलाई अहिलेसम्म कारबाहीको प्रक्रिया बढाएको छैन । ठेकेदारलाई जरिवाना गर्ने विषयमा कुनै निर्णय वा छलफल नभएको महानिर्देशक थापाले बताए ।
पुलको अध्ययन गर्न विभागले प्राविधिक सम्मिलित तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिले पाँच दिनअगाडि नै प्रतिवेदन विभागमा बुझाएको हो
