नवलपुरमा छैन प्रयाप्त अक्सिजन सिलिण्डर, जिल्ला अस्पताल भरिभराउ
रामकुमार श्रेष्ठ –

नवलपरासी, २३ बैशाख । पूर्वी नवलपरासीमा कोभिड १९ को संक्रमित बढीरहँदा अस्पतालमा अक्सिजन सिलिण्डर भने अभाव देखिन थालेको छ ।
मध्यविन्दु जिल्ला अस्पताल र पालिका स्तरका अस्पताल गरी ८ वटा अस्पतालमा आइसोलशन कक्ष तयार भएको भए पनि सबैमा प्रयाप्त अक्सिजन सिलिण्डर नभएको पाइएको छ ।
संक्रमितको बढ्दो दर र अस्पतालमा लैजानै पर्ने विरामीको दर पनि बढ्दो क्रममा रहेको बेला अहिले जिल्ला भरीका विरामीलाई मध्यविन्दु जिल्ला अस्पतालले मात्र थेक्न परेको छ । आइसियुमा राख्नु पर्ने विरामी भने चितवन रिफर गर्नु पर्ने नवलपुरको बाध्यता रहेको छ ।
मध्यविन्दु जिल्ला अस्पतालका डा. विरबहादुर थापाका अनुसार मध्यविन्दु जिल्ला अस्पतालमा अहिले ६० वटा अक्सिजन सिलिण्डर रहेको छ । जुन सिलिण्डर अहिले मध्यविन्दु जिल्ला अस्पतालमा रहेका १९ जना विरामीलाई दिंदा ठिक्क भएको छ ।
थापाले भने – सिलिण्डर खाली हुना साथ भर्नका लागि कहाँ खाली छ भनेर दौडधुप गर्नु पर्ने बाध्यता रहेको छ ।
थापाले अस्पताल जति भरिभराउ भए पनि आएका विरामीलाई जसरी पनि उपचार गर्ने बताए ।
पालिकाको स्तरको अस्पतालमा तयारी कमजोर
४ गाउँपालिका र ४ नगरपालिका रहेको नवलपुर जिल्लामा कावासोती बाहेक अन्य पालिकाहरुमा पालिका स्तरका प्रस्तावित अस्पताल, प्रथामिक स्वासथ्य केन्द्र, स्वास्थ्य चौकीमा आइसोलेसन तयार भए पनि प्रयाप्त अक्सिजन सिलिण्डर भने नपाएको पाइएको छ ।
गैडाकोट नगरपालिकाको प्रस्तावित नगर अस्पताल पितौजीमा अहिले जम्मा ३ वटा अक्सिजन सिलिण्डर रहेको छ । गैडाकोटका नगर प्रमुख छत्रराज पौडेलका अनुसार नगरपालिकाले १० थान सिलिण्डर खरिद प्रक्रिया टुंगाएर आजभोलिमै ल्याउने तयारी गरेको छ ।
त्यसैगरी देवचुली नगरपालिकाको प्रथामिक स्वास्थ्य केन्द्र दुम्कौलीमा सानो ५ र ठूलो ५ गरेर १० वटा मात्र सिलिण्डर रहेको देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीले बताइन् । तिवारीका अनुसार देवचुलीले पनि थप सिलिण्डर खरिदका लागि प्रक्रिया अगाडि बढाएको छ ।
त्यसैगरी कावासोतीले आजभोलिमा ५ सिलिण्डर खरिद गरेर मध्यविन्दु जिल्ला अस्पताललाई दिने तयारी गरेको छ । कावासोती नगरपालिका भित्रै मध्यविन्दु जिल्ला अस्पताल रहेकोले नगरपालिकाले अर्का आइसोलशनको तयारी गरेको छैन ।
कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीका अनुसार नगरपालिकाले छुट्टै आइसोलेसन वा अस्पताल सञ्चालन गर्दा जनशक्तिदेखि विभिन्न भार थप हुने भएकोले मध्यविन्दु जिल्ला अस्पताललाई नै आवश्यक पर्ने सहयोग गरेर अगाडि जाने निर्णय गरेको छ ।
मध्यविन्दु नगरपालिकामा ७ थान, बौदीकाली गाउँपालिकामा ५ थान, हुप्सेकोट गाउँपालिकामा ५ थान, वियनी त्रिवेणी गाउँपालिकामा ५ थान र बुलिङ्गटार गाउँपालिकामा ५ थान अक्सिजन सिलिण्डर अहिले मौजुदा अवस्थामा रहेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
अक्सिजन सिलिण्डर पाउनै गाह्रो
कावासोती नगरपालिकाले अक्सिजन सिलिण्डर खरिद प्रक्रिया अगाडि बढाएको एक साता भयो तर नगरपालिकाले अझै अक्सिजन सिलिण्डर ल्याउन सकेको छैन । कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रमेश घर्तीले बल्लबल्ल ५ थान सिलिण्डर पाएर खरिद गरेको र आजभोलिमै आउने तयारीमा रहेको बताए ।
त्यस्तै विनयी त्रिवेणी गाउँपालिकाले पनि अक्सिजन सिलिण्डर खरिद प्रक्रिया अगाडि बढाएको छ तर पाउनै मुस्किल भएको गाउँपालिका अध्यक्ष डम्बरबहादुर जिसीले बताए ।
गाउँमा कु्नै बेला ल्याइएका र अहिले खेर गएर बसेका अक्सिजन सिलिण्डरहरु भए गाउँगाउँबाट पनि खरिद गर्ने गरी निर्णय भएको जिसीले बताए ।
देवचुली नगरपालिकाका नगरउपप्रमुख पार्वता तिवारीले पनि नगरपालिकाले थप सिलिण्डर खरिद प्रक्रिया अगाडि बढाए पनि पाउनै मुस्किल भएको बताए ।
मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ड बन्दै
पूर्वी नवलपरासीको जिल्ला अस्पताल मध्यविन्दु जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट निर्माण प्रक्रिया अगाडि बढाएको छ ।
प्रदेश सरकारको सहयोगमा अक्सिजन प्लाण्ड निर्माणका लागि ठेक्का लागिसकेको र सम्झौता हुन बाँकी रहेको मध्यविन्दु जिल्ला अस्पतालका डा. विरबहादुर थापाले बताए ।
थापाका अनुसार सम्झौता गरेर काम शुरु गरेको १५ दिनमा प्लाण्ट तयार हुने छ । प्लाण्ट तयार भए पछि प्लाण्टमा हुने ४४ वटा पोर्टबाट कम्तिमा ४४ बेडमा ४४ जनालाई अक्सिजन पुर्याउन सकिने छ ।
