पोखराका दुई ठुला अस्पताल कोरोनाका बिरामीले भरिए


कोरोनाको दोस्रो लहर बढ्दै जाँदा पोखराका दुईवटा सामुदायिक अस्पतालमा कोरोनाका बिरामी भरिएका छन् । कोरोना संक्रमण बढ्दै गएकाले प्रदेश राजधानी पोखरामा प्रदेश र संघीय सरकारद्वारा सञ्चालनमा रहेका दुई दुईवटै अस्पतालमा कोरोनाका बिरामी भरिएको अस्पताल स्रोतले जनाएको छ ।



प्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल (पोखरा–३० मोहोरिया) मा हाल ५० बेड अस्पतालमा ५५ जना कोरोनका बिरामी छन् भने संघीय सरकारको मातहातमा रहेको प्रदेशकै ठूलो सामुदायिक अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा हाल ४० जना कोरोनाका गम्भीर बिरामीको उपचार भइरहेको अस्पताले जनाएको छ । कास्कीसहित प्रदेशका ११ जिल्लाको साथमा छिमेकी जिल्लाबाट समेत पोखरामा कोरोनाका बिरामी आउन थालेकोले बिरामीलाई व्यवस्थापन गर्न निकै कठिन हुन थालेको प्र्रदेश संक्रामक तथा सरुवा रोग अस्पताल पोखराका प्रमुख डा. विकास गौचनले बताए ।

गण्डकी प्रदेशमा प्रत्येक दिन कोरोनाका बिरामीको संख्या दैनिक ३ सय जनाभन्दा बढी रहेको छ भने दैनिक करिब ३÷४ जना मृत्यु भएको उनले जनाए । प्रदेशको कोरोना डेडिकेट अस्पतालमा हाल ५० सिट क्षमताको अस्पताल भए पनि आफूहरूले जेनतेन कर्मचारीको अभावका बाबजुत पनि ५५ जना बिरामीलाई सेवा दिएको प्रमुख डा. गौचनले बताए ।




उनले भने, “हामीसँंग भएको स्रोत साधनबाट अहिलेको अवस्थामा कोरोनाको उपचार गर्न नसक्ने अवस्थामा पुग्दैछौं यसमा सबै सचेत हुनु प¥यो ।” सामुदायिक अस्पतालहरूमा जनशक्ति अभाव भएकाले त्यसको प्रत्यक्ष असर गरिब तथा मध्यम वर्गका व्यक्तिमा पर्ने डा. गौचनको दाबी छ ।

पोखरा–३० मा रहेको लेखनाथ सामुदायिक अस्पताललाई कोरोनाको उपचार गर्ने भन्दै कोरोना डेडिकेट संक्रामक तथा सरुवा रोग अस्पतालको रूपमा विगत १० महिनाअघि स्थापना गरे पनि हालसम्म उक्त अस्पतालबाट आईसीयू र भेन्टिलेटरको सुविधा दक्ष कर्मचारीको अभावमा सञ्चालनमा आउन नसकेको प्रमुख डा. गौचनले बताए ।

यसैबीच, पोखरामा रहेको अर्को सामुदायिक अस्पताल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हाल कोरोनाका करिब ९० प्रतिशत बिरामीलाई अक्सिजन लगाएर उपचार गर्नुपरेको प्रतिष्ठानअन्तर्गत कोभिड फोकल पर्सन डा. शरद बरालले बताए । अहिलेको अवस्थामा अझै ३ साता पूर्वसावधानी अपनाउनु पर्ने उनले बताए । कोरोनाका गम्भीर प्रकारका बिरामी बढ्दै जाँदा प्रतिष्ठानमा मेडिकल वार्ड, अर्थपेडिक लगायतका वार्ड खाली गर्दै थप एक सय ५० बेडसम्म विस्तार गर्ने योजना रहेको फोकल पर्सन डा. बरालले बताए ।



सम्बन्धित
Loading...