हेटौंडा औद्योगिक क्षेत्र ७० प्रतिशत क्षमतामा मात्र सञ्चालन
कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै कोरोना सङ्क्रमणको जोखिम नियन्त्रण गर्न हेटौँडा उपमहानगरपालिकासहित जिल्लाका चार स्थानीय तहमा गरिएको निषेधाज्ञाको प्रभाव औद्योगिक क्षेत्रमा परेको छ ।
आइतबार रातिबाट निषेधाज्ञा जारी भएसँगै हेटौँडा औद्योगिक क्षेत्रका उद्योगहरूले उत्पादन कटौती गर्न थालेका छन् ।
औद्योगिक क्षेत्रमा रहेका उद्योगहरू अहिले ७० प्रतिशत क्षमतामा मात्र सञ्चालनमा छन् ।
उद्योगहरू दिउँसो सञ्चालन भए पनि राति भने सीमित सङ्ख्यामा मात्र सञ्चालन भइरहेको औद्योगिक क्षेत्र व्यवस्थापनले जनाएको छ ।
हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार निषेधाज्ञा जारी भएपछि उद्योगहरू ७० प्रतिशत क्षमतामा मात्र सञ्चालन भइरहेका छन् ।
हेटौँडा औद्योगिक क्षेत्रमा चालू अवस्थामा रहेका ११२ उद्योगमध्ये निषेधाज्ञा जारी भएपछि ३० वटाभन्दा बढी उद्योग बन्द भएका छन् ।
बाँकी उद्योगलाई आवश्यक कच्चा पदार्थ आयात र उत्पादित वस्तु बजारमा आपूर्ति गर्न अहिलेसम्म सहज अवस्था भएकाले उद्योगहरूले उत्पादनलाई निरन्तरता दिँदै आएका छन् तर पछिल्लो समयमा माग घट्दै गएको र निषेधाज्ञाको समय लम्बिएर पसल, व्यवसाय र निर्माणका काम बन्द हुने क्रम बढ्दै गएमा उद्योगहरूले मजदुरसँगै उत्पादनमा थप कटौती गर्ने देखिएको छ ।
स्थानीय प्रशासनले उद्योगमा कार्यरत कामदार–कर्मचारीलाई बिहान उद्योगमा लैजान र बेलुका घर फिर्ता गर्न सवारी साधन सञ्चालन गर्न सहज बनाएका कारण उद्योग सञ्चालनमा सहज भएको हो ।