संस्मरण : मेरी आमा र पितृसत्तात्मक समाज




रवि पाण्डेय –

‘उही छोरी त होला नि ?’ – ऊ बेला गाउँघरमा खासखुस चल्थ्यो । सेन्टरप्लटको पंधेरामा चलेको यी कानेखुसीको प्रभावमा मेरो घर पट्टीको हजुर आमाले समेत बालाई भन्नुहुन्थ्यो – ‘साना…उही थाप्रे त होला नि’ यो सुन्दा बुवाको मन अमिलो हुने नै भयो । यिनै ‘ताना’ ले आमा रुनुहुदो रहेछ । पंचायती सामाजिक परिबेशका यी कुरा मलाई बाल्यकालमै बाआमाबाट सुनाइएका हुन ।




काँध हाल्न छोरा चाहिने कुराले बुवालाई निकै पिरोल्दो रहेछ । बुवाहरु चारमध्ये त्यसबेला सम्म सबैका छोरा भईसकेका रहेछन् ।  ‘आइतवारको सुर्य ब्रत गरेर पाएको हो । तेराँ लागि यति त गरिएन । ’ जब बाआमालाई कुनै गुनासो गर्न मैले ठाँउ दिए भने यस्तै सुन्नुर्पथ्यो । ‘ यही दिन देख्न रैछ । छोरा जन्माएको ।’

जब म जन्मे । दिदीहरु गदगद् भएछन् । उनीहरुले मलाई भुईमै राख्न नदिएर हुर्काउएको रे । ‘ सेतीले त हातमै हगाउँथी ’ – घर पल्तिरका अधिकारी राँइला बुवा आमाले भनेको याद छ – ‘ तँ जन्मिस् बहुत चाख भयो । छोरी छोरी मूनिको एउटा भाई ।’

म माथिका तीन दिदी म भन्दा तलका २ बहिनी मैले जानेको मात्र । आमाले भन्नुहुन्थ्यो – ‘बाह्रवटा पाएको ज्यान हो । अझ दुःख गर्नै लेखेको रैछ ।’

मेराबारे मेरो जन्मस्थल हालको बर्दघाट–२ चिसापानी एक नम्बर बल्कमा एउटा किस्सा अझै छ । ‘ल बरालको छोरा आयो’ । सानामा यो कुरा सुन्दा म धेरै संग झगडा गरेको घटना पनि ताजै छ । छोरी पछि छोरी पाएको भनेर हेप्ने समाजले मेरो जन्मलाई पनि ठट्टा गरेछ । अनि एक रुपैयामा मलाई बराल बुवा आमासंग किनेर ल्याएको रे । उहाँहरुलाई मैले अझै पनि धर्म बुवा आमा मान्दै आएको छु ।

ठूली दिदी राधालाई गाउलेहरु अझै सेती भन्छन् । अनि मलाई दिनेश । यी हाम्रा बोलाउने नाम हुन । उँ बेला तीनवटा नाम दिने चलन थियो ।  अझै पनि मलाई रवि भनेर नचिन्ने गाउँलेहरु पनि छन् । ‘ डाडाँखर्के जेठो दिनेश के ?’कसैले दोहो¥याएर सोध्यो भने अझै पनि छिमेकीहरु भन्ने गर्छन । मेरो जन्मले मावली तर्फ पनि खुसी छरेको रे । बि.स. २०५५ मा भाई  जन्मे पछि म जेठो भएको हो ।

हाम्रो मुलथलो गुल्मी जिल्लाको हर्मिचौर डाडाँखर्क ।  हाम्रो परिवार २०३४ सालमा हालको सुनवलस्थित मच्छरमाराबाट तत्कालीन माकर – २ चिसापानीमा सुकुम्बासी आएको परिवार हो । ठुली दिदी सेती ( राधा ) उतै जन्मिएको र हामी बाँकी सबै यहाँ आइसकेपछि जन्मेका हौं । मलाई सानैमा बाआमाले गुल्मी जानुभएको थियो  रे । मैले सम्झेको छैन ।  मलाई बुवाले काँधमा राखेर राम्दी लगेको भने मधुरो याद छ । पाल्पा भुसालडाँडा मिसन अस्पतालमा उपचारका लागि जादाँ रातिमा कुकुरले लखेटेको र कुनै घरमा गएर बास मागेको याद छ । त्यो बाटो धुलाम्य थियो । सायद बाटो बन्दै भएर होला । त्यति बेला मलाई जन्डिस भएर बुवाले लैजानुभएको रैछ । ‘छोरा होस’ भनेर रिडी ऋषिश्वरसंग भाकल गरेको रे । त्यही भाकल पुरा गर्न बुवाले मलाई रिडी पु¥याउनु भएछ ।

मेरो भाई जन्मिदाँ म  १४ बर्षको थिएँ । बुवा ६२ बर्षको । ‘आमाले के पाउनु भएछ नानी ‘ आरने आमाले मलाई सोध्दाँ  भाई पाउनुभयो भनेर मैले छाती पिटेछू । त्यो उमेरमा मलाई छाती पिट्न कसले सिकायो ?  मैले अहिले पनि सोच्छु । छोरा प्रति छाती पिटने समाज छोरी जन्मिदा किन छाती पिट्दैन ?

किन अबिर लगाउदैन । यो मानसिक रोगबाट किन उठ्दैन मान्छे ?  भाई जन्मेपछि पनि समाजले बालाई लखेट्यो ।  ‘ एँ ६० बर्ष पछि पनि
जायजन्म हुँदो रैछ ’मेरो वुबाको उमेर प्रति गरेको ब्यंग मेरो मस्तिष्कमा नहुने कुरै भएन । बाँ ६२ को हुदाँ भाई जन्मिनुमा मेरा बाआमाको के अपराध ? म सोच्थे ।  आमाले ‘ फलानीले यो भनि , फलानोले यो भन्यो ’ भन्दै सुनाउनुहुन्थ्यो ।

बुवा २०६६ मा बित्नु भो । आमा २०७७ मा । आमा बुवाबीच २२ बर्षको फरक थियो ।  बाआमाले बाच्न र हामीलाई बचाउन गरेको संर्घष कम्ता कष्टकर छैनन । बा वित्दा म रोइँन । रुने मौकै मिलेन । जिम्मेवारीले रुन पनि दिदो रैनछ । मुटुमा गाठो पार्दाेरैछ । यही २०७७ फागुन १९ मा आमा जानुभयो । आमा खसेपछि आमाका राजनैतिक सामाजिक योगदानको चर्चा भए ।  श्रद्धाञ्जली भयो । आमाको श्रम प्रतिको आस्थाको निकै प्रंसशा भयो ।

तर, मेरी आमालाई छोरो नपाएकै भरमा लान्छना लगाउने पितृसत्तात्मक समाजले आमाको मुख हेर्ने औशी मनाउदैछ ।  छोरो पाउन नसकेको कारण मेरो बुवालाई ‘नार्मद’ बनाउने पितृसत्ताले बुवाको मुख हेर्ने दिनलाई ‘फादर्स डे’ को रुपमा  मनाउने गर्छ ।

तर , अहिले पनि छोरीहरु गर्भमै मर्छन ।  भबिष्यका आमाहरु गर्भमै फालिन्छन ।  अनि फगत आमा औशी मनाएको के काम ? त्यसैले पितृसत्ताको अन्त्य विना आमा औशी मनाउनु बेकार छ । आमालाई एक दिन सम्झनु भन्दा आमाहरुको सुरक्षाका लागि समाजले ध्यान दिनुपर्ने होइनर ?



सम्बन्धित
Loading...