प्रतापपुरका बिरामीलाई घरमै उपचार
हरि शर्मा –
परासी, २ जेठ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले बिरामीहरुको घरमै पुगेर परीक्षण र उपचार सेवा सुरु गरेको छ ।
संक्रमण फैलिएको समयमा लक्षण देखिएपनि घरमै बस्ने गरेको पाइएकाले स्वास्थ्यकर्मी खटाएर गाउँपालिकावासीहरुको परीक्षण र अन्य उपचार सेवा सुरु गरिएको कार्यबहाक अध्यक्ष अञ्जु कुमारी चौधरीले बताईन् ।
परीक्षण पश्चात बिरामीलाई आवश्यक रहेका औषधि समेत वितरण गर्ने गरेको उनले जानकारी दिईन् ।
उपचार सेवाका क्रममा संक्रमणका लक्षण देखिएकाहरुको निःशुल्क पिसीआर परीक्षण गर्ने गरिएको छ । लक्षण देखिएकाहरुले परीक्षण नगरी मेडिकलहरुबाट कडा औषधि सेवन गर्ने र संक्रमित पश्चात त्यसले गंभिर असर पार्ने भएकाले पनि घरमै पुगेर परीक्षण र उपचार सेवा सुरु गरिएको चौधरीको भनाई छ ।
लक्षण देखिएका बाहेकका बिरामीहरुलाई स्वास्थ्य संस्थामा पु¥याउन गाउँपालिकाले आफ्नै गाडी प्रयोगमा ल्याएको छ । त्यसैगरी संक्रमित भएकाहरुलाई आइसोलेसन र अस्पताल पु¥याउन एम्बुलेन्सको व्यवस्था गरिएको छ ।
संक्रमितहरुका लागि १५ बेडको अक्सिजनसहितको आइसोलेसन बनाइएको छ । बिरामीहरुको उपचारका लागि आइसोलेसनमा २ जना चिकित्सकसहितको टोली रहेको गाउँपालिकाले जनाएको छ ।
