स्वाव धेरै भएपछि मध्यविन्दु अस्पतालको कोभिड ल्याव २४ सै घण्टा चलाउने तयारी
डोलराज रानाभाट, गैँडाकोट, जेठ २ । नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालमा रहेको कोभिड ल्यावमा स्वावको चाप थुप्रिन थालेको छ । जसका कारण रिपोर्ट आउन ढिलो भएको छ । वैशाख २९ गतेसम्म संकलन भएका स्वावको रिपोर्ट पछि अस्पतालले रिपोर्ट दिन सकिरहेको छैन।
अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले दैनिक १५० बढी स्वाव आउन थालेको बताउनुभयो । कोभिड ल्यावको क्षमतामा दैनिक ९४ मात्रै रहेको छ । ९४ वटा स्वाव परीक्षण गरी रिपोर्ट सार्वजनिक गर्दासम्म करिव १२ घण्टा समय लाग्ने गरेको सुवेदीले बताउनुभयो । स्वाव मेशीनमा राख्नुअघि २ घण्टा, मेशीनमा राखेपछि ६ घण्टा र त्यसपछि २ घण्टा गरी १० घण्टा स्वाव परीक्षणको प्रकृयामा समय लाग्ने र रिपोर्ट फाइनल गर्दा १२ घण्टा लाग्ने गरेको हो । अहिले ल्यावमा १० जना जनशक्ति छन् ।
तर ती मध्ये ल्याव भित्रै बसेर काम गर्ने जनशक्ति चार जनामत्रै रहेको सुवेदीले बताउनुभयो । ल्यावमा रहेको दरवन्दीका ६ जना, अस्पतालबाट २ जना, १ जना स्वयमसेवकहरुले उपलब्ध गराउनुभएको कर्मचारी र १ जना देवचुली नगरपालिकाबाट गएका कर्मचारीले काम गरिरहेका छन् । चारै जना विएमएलटी हुन् ।
आज र भोली आउने स्वावको चाप हेरी चौविसै घण्टा संचालनवारे निर्णय लिने पनि सूचना अधिकारी सुवेदीले बताउनुभयो । शुक्रवार सम्म अध्यधिक रहेपनि शनिवार कम स्वाव प्राप्त भएको र आइतवार सोमवार आउने स्वावको चाप हेरी थप निर्णय लिने छौँ , सुवेदीले भन्नुभयो ।
जिल्लामा पीसीआर परीक्षण नहुँदा पोखरा, भरतपुर, हेटौँडा जानुपर्ने वाध्यता पहिलो चरणमा परेपछि अस्पताललाई पीसीआर मेशीन प्राप्त भएको थियो । २०७७ कार्तिक १ गते मेशीन हस्तान्तरण भएपनि लामो समय थन्किएको मेशीन संचालनमा आएपछि रिर्पोट प्राप्त गर्न सजिलो भएको छ । तर स्वावको चाप बढ्ने जनशक्ति कम हुँदा अहिले समस्या आएको छ ।
