एकैदिन ६ हजार ६४८ जना कोरोना संक्रमणमुक्त
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ६४८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३९ हजार ७५६ पुगेको छ । निको हुने दर ७४.६ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ५३९ जनाको पीसीआर परीक्षण र ३४४ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७ हजार ३६८ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
नेपालमा थप १४५ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार १ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा एक हजार ८८१, ललितपुरमा ४३६ र भक्तपुरमा २९२ जना गरी दुई हजार ६०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
आइतबार देशभरमा भने सात हजार ३६८ जनामा संक्रमण पुष्टि भएको छ ।