दुर्घटना अपडेट: मृतक चार जनाकै सनाखत



हरि शर्मा –
परासी, ५ जेठ ः पश्चिम नवलपरासीको दाउन्ने पहाडबाट आज बिहान बस खस्दा मृत्यु भएका चारै जना रुकुम पश्चिमका रहेको खुलेको छ । दुर्घटनामा ४९ घाइते भएका छन् ।



जसमा २ को अवस्था गंभिर रहेको प्रहरीले जनाएको छ । उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्यको उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ । निषेधाज्ञाका कारण काठमाण्डौंमा अलपत्र परेका यात्रुलाई लिएर हिडेको उक्त बसमा रुकुम पश्चिम र सल्यानका यात्रु थिए ।

अकस्मात ब्रेक फेल भएपछि बस दाउन्ने पहाडको खुर्सानी खोलाबाट १ सय ५० मिटर तल खसेको थियो । ना ५ ख २७१३ नम्बरको बसमा दुर्घटनामा परी मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका– ६ की २७ वर्षीया कल्पना पुन, सोही जिल्ला सिस्ने गाउँपालिका–४ का ३६ वर्षिय धनराज घर्ती, बाझीकोट गाउँपालिका–५ की देवी केसी र मुसिकोट नगरपालिका–१ का २१ वर्षीय गोपाल ओली छन् ।




उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । बसलाई रुखले अड्काएका कारण थप मानवीय क्षति हुनबाट जोगिएको प्रहरीले जनाएको छ । सुरुमा रुकुम पश्चिमका लागि मात्र भनेर हिडेको बसमा सल्यान जान हिडेको बसका यात्रुलाई पनि राखिएको थियो । बसमा ५८ जना यात्रु सवार थिए ।

https://www.youtube.com/watch?v=gGTyIUrWYYQ&list=UUdVEllX6-3RtSujuMJI-nBQ&index=2



सम्बन्धित
Loading...