सैन्य कारबाही भए प्रतिकार गर्ने भारतलाई पाकिस्तानको चेतावनी


पाकिस्तानले भारतबाट आफूविरुद्ध सैन्य कारबाही भए प्रतिकार गर्ने चेतावनी दिएको छ।



गत हप्ता भारत प्रशासित कश्मीरमा आत्मघाती आक्रमण हुँदा ४६ सुरक्षाकर्मीको मृत्यु भएपछि भारतले पाकिस्तानलाई सो घटना गराएको आरोप लगाउँदै कारबाही गर्ने धम्की दिँदै आएको छ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले टेलिभिजन सम्बोधनमार्फत् भारतलाई कश्मीर आक्रमणमा संलग्न भएको प्रमाण दिन चुनौती दिएका छन्। पाकिस्तानी भूमिबाट सञ्चालित लडाकु सङ्गठन जैश-‍‍ए-मोहम्मदले सो घटना आफूले गराएको दाबी गरेको छ।




सो घटनापछि भारत र पाकिस्तानबीच तनाव बढेको छ। सन् १९४७ मा विभाजन भएदेखि नै दुई देशले कश्मीर आफू अधीनस्थ हुनुपर्ने दाबी गर्दै आएका छन्।

आफ्नो सम्बोधनमा उनले कश्मीर आक्रमणबारे प्रतिक्रिया दिँदै “भारतले पाकिस्तानलाई विनाप्रमाण दोष लगाउन छोड्नुपर्ने” भन्दै भारतीय पक्षलाई पाकिस्तान संलग्न भएको प्रमाण आफूसँग भए देखाउन चुनौती दिएका छन्।

उनले भने, “यदि तपाईँ पाकिस्तानमा कुनै किसिमको आक्रमण गर्नेबारे सोच्दै हुनुहुन्छ भने पाकिस्तानले प्रतिकार गर्नेबारे सोच्ने मात्र हैन, पाकिस्तानले प्रतिकार नै गर्नेछ।”

तर उनले वार्ताबाट कश्मीरसँग सम्बन्धित विवादको समाधान गर्न सकिन विश्वास व्यक्त गरे। दिल्लीले भारत प्रशासित कश्मीरमा पृथक्तावादी लडाकुहरूलाई पाकिस्तानले सघाउने गरेको आरोप लगाउने गरेको छ।

आफ्नो सरकार कश्मीर घटनाको अनुसन्धानमा सहकार्य गर्न तयार रहेको भन्दै गत वर्ष प्रधानमन्त्री बनेका खानले पाकिस्तानले आफैँ स्थायित्वतिर उन्मुख भएका बेला त्यस्तो आक्रमणबाट के पाउँछ र भनेर प्रश्न गरेका थिए।



सम्बन्धित
Loading...