अक्सिजन प्लाण्ट र एचडियु सञ्चालनका लागि अर्थ मन्त्रालयले मध्यविन्दु अस्पतालालाई दियो ७५ लाख
नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ मा रहेको मध्यविन्दु जिल्ला अस्पतालमा थप अक्सिजन प्लाण्ट र एचडियु सञ्चालनका लागि अर्थ मन्त्रालयले ७५ लाख बजेट निकासा गरेको छ ।
संघीय सरकारको अर्थमन्त्रालयले गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहत आउने गरी आइतबार ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।
उक्त रकम अस्पतालमा अक्सिजन प्लाण्टको स्तर वृद्धिका लागि प्रयोग गर्ने अस्पताल प्रशासनले जनाएको छ ।
मध्यविन्दु जिल्ला अस्पतालमा दैनिक १८ वटा सिलिण्डरमा अक्सिजन भर्न सकिने अक्सिजन प्लाण्ट सञ्चालनमा आएको छ तथापि हालको अवस्थाका अक्सिजन प्लाण्टले अहिले अस्पतालमा रहेका कोरोनाका विरामीहरुलाई अक्सिजन दिन अभाव हुने र बाहिरबाट समेत भरेर ल्याउनु पर्ने बाध्यता रहेका कारण अस्पताल र जिल्ला स्तरको विपद व्यवस्थापन समितिले अक्सिजन प्लाण्ट विस्तारका लागि सहयोग जुटाउने निर्णय गरेको थियो ।
