कावासोतीमा श्रृंखलाबद्ध चोरीको घटनामा संम्लग्न २ जना पक्राउ 


रामकुमार श्रेष्ठ  –



नवलपुर । नवलपुर प्रहरीले कावासोतीमा पछिल्लो श्रृंखलाबद्ध चोरीका घटनामा सम्लग्न २ जनालाई नियन्त्रणमा लिएर सार्वजनिक गरेको छ ।




प्रहरीले पक्राउ परेकाहरुसँग सुन, चाँदी, टेलिभिजन, भाडाकुडा, खाद्य सामग्री, मोबाइल सेट, चोरीको बेला प्रयोग गर्ने हतियारहरु समेत बरामद गरेको छ ।

पक्राउ परेकालाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो । मंगलबार जिल्ला प्रहरी कार्यालय नवलपुरमा पत्रकार सम्मेलन गरेर प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा कावासोती १ निवासी २७ बर्षीय कृष्णबहादुर परियार र देवचुली १६ निवासी ३९ बर्षीय मोटे हरि भन्ने हरिजन दर्जी रहेका छन् ।

एक जना भने फरार रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

उनीहरुले बैशाख २३ गतेदेखि जेठ १५ गतेसम्म विभिन्न ५ घरमा चोरी गरेको खुलेको प्रहरीले जनाएको छ ।

उनीहरुले बैशाख २३ गते कावासोती ३ परिवर्तन चोक निवासी नारायण अर्यालको घरबाट नगद, गरगहना, टेलिभिजन, थाल, कचौरा समेत ५ लाख बराबरको धनमाल चोरी गरेका थिए ।

त्यसैगरी बैशाख २५ गते कावासोती ५ दशघरे बस्ने मनमाया पाइजामगरको घरबाट टिभी, राइसकुकर, प्रेसर कुक, मिक्सर, कराई, कपसेट, ग्याँस चुलो, चक्कु, बल्याङकेट, काँसको थाल कचौरा गरी ८१ हजार ६ सय रुपैया बराबरको धनमाल चोरी गरेका थिए ।

त्यसैगरी जेठ १४ गते कावासोती ६ विष्णुनगर निवासी सरस्वती भुसालको घर घाडामा पसल गरी बस्ने मणि न्यौपानेको पुजा सामग्री पसल र उनकै घरमा भाडा गरी बस्ने खिममाया रानाको कोठाबाट पनि सामन चोरी गरेको खुलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले पुजा सामग्री पसलबाट नगद, शंख, शिवलिङ्ग, गणेशको मुर्ती, तामाको थाली, पित्तलको थाली, छात्रा, घ्यू, तिलको तेल, अगरबती गरी अन्दाजी २७ हजार बराबरको समान चोरी गरेको थियो भने खिममाया रानाको कोठाबाट मोबाइल, दोसल्ला, खानेतेल, लाइट, काँसको थाल, काँसको कचौरा, स्टिलको कचौरा, स्टिलको थाल, खाजा प्लेट, लसुन समेत गरी ५७ हजार ८ सय ७० रुपैयाँ बराबरको धनमाल चोरी गरेका थिए ।

त्यसैगरी जेठ १५ गते कावासोती ६ प्रगतिटोल बस्ने राजु रसाइलीको घरबाट नगद, चाँदी, सुन, सुन तौल गर्ने मेसिन, सुन सफा गर्ने फलामको दाना,  जुत्ता, हाल्फ पाइट, टिर्सट, मोबाइल गरी ६ लाख ७६ हजार एक सय रुपैयाँ बराबरको समान बरामद गरेको थियो ।

उनीहरुले घर कोही नभएको घरमा चोरी गरेको पाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । त्यसैगरी उनीहरुले राति ९ बजेदेखि ११ बजेसम्म घरमा रेकी गर्ने र राति १÷२ बजेको समयमा चोरी गर्ने गरेको पाइएको प्रहरी नायव उपरीक्षक गिरीले बताए ।

५ घरबाट करिब १३ लाख बराबरको धनमा चोरी भए पनि प्रहरीले ६ लाख बराबरको धनमाल मात्र बरामद गरेको छ ।



सम्बन्धित
Loading...