पश्चिम नवलपरासीमा कोरोनाका कारण राकिएको मल वितरण कार्य सुरु


परासी, जेठ १८ । पश्चिम नवलपरासीमा कोरोना महामारीका कारण रोकिएको मल वितरण किसानको आवश्यकतालाई मध्यनजर गर्दै सुरु गरिएको छ । कृषि सामाग्री कम्पनी परासीले केहीदिन देखि जिल्लाका ५५ वटा सहकारीलाई मल वितरण गरिरहेको छ ।



स्थानिय तह छुट्टाएर दैनिक युरीया र डिएपी सहकारीलाई वितरण भईरहेको कृषि सामाग्री कम्पनी परासीका प्रमुख खडानन्द बञ्जाडेले रेडियो परासीलाई जानकारी दिए। सहकारी संस्थाले सो मल आफ्ना कार्यक्षेत्रका किसानलाई विक्रि गर्ने छन् ।

धानको बिउ राख्ने समयमा रासायनिक मल वितरण हुन नसक्दा किसानहरु समस्यामा परेपछि निषेधाज्ञाका बिचमै आवश्यक सावधानी अपनाएर मल वितरण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए।




कम्पनीसँग मौज्जाद ६ सय टन डिएपी र साढे ५ सय टन युरिया मल, सहकारीको कार्यक्षेत्रको आधारमा वितरण भईरहेको छ । जिल्लाको २९ हजार ९ सय ७५ हेक्टर क्षेत्रफलमा धान खेति हुँदै आएको छ । जसमध्ये प्राय सबै किसानले धानको बिउ राखिसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । किसानहरुलाई अहिले डिएपी मलको आवश्यकता छ ।



सम्बन्धित
Loading...