यस्तो बन्दैछ रुपन्देहीमा अत्याधुनिक बस टर्मिनल




रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा सुविधासम्पन्न अत्याधुनिक बस टर्मिनल बन्ने भएको छ ।

तिलोत्तमा नगरपालिका १३ र १४ को बीचमा पर्ने टिकौलीगगढमा १८ विगाहा क्षेत्रफलमा बन्ने बस टर्मिनलको डिजाइन काठमाडौंको डेकोर स्टुडियोले एक महिना लगाएर तयार पारेको हो ।




बस टर्मिनल गौतमबुद्ध विमानस्थलबाट ६ किलोमिटर उत्तरमा बन्ने छ ।

लुम्बिनी प्रदेश सरकारको ३० प्रतिशत र संघीय सरकारको ६० प्रतिशत बजेट साझेदारीमा बन्न लागेको बस टर्मिनल निर्माणका लागि संघिय सरकारले १ करोड ६६ लाख बजेट पठाई सकेको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।

प्रदेश सरकारको प्रदेश सहरी विकास कार्यालयमा उक्त बजेट आई सकेको र टेण्डर प्रकृयामा जान लागेको उनले बताए ।

बुटवल र भैरहवमा रहेका बसपार्कले सवारीसाधनको चाप खेप्न नसकिरहेको अवस्थामा तिलोत्तमाले बस टर्मिनलको प्रस्ताव प्रदेश र संघीय दुबै सरकारमा लगेको नगरप्रमुख घिमिरेको भनाई छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै लुम्विनी भ्रमणका लागि आउने अन्र्तराष्ट्रिय यात्रुहरुलाई समेत उपयोगी हुनेछ । तिलोत्तम नगरपालिकाले डिपिआर र जग्गा तारवारका लागि चालु आर्थिक वर्षमा एक करोड बजेट छुट्टाएको थियो ।

बस टर्मिनलमा २ सय ५० वटा सम्म बसहरु लामै समय सम्म पार्किङ गर्न मिल्ने क्षमताको बन्ने छ भने ३० वटा बसहरुले नियमित आवत जावत सेवा प्रवाह गर्न सक्नेछन् ।

बस टर्मिनलमा पेट्रोल पम्प, आवास गृह ,सुविधा सम्पन्न होटल रेष्टुरेण्ट, फोन चार्जिङ स्टेशन, लामो र छोटो दुरीका सवारी साधनका लागि बेग्ला बेग्लै पार्किङ क्षेत्र हुने छ भने भित्रै सवारी साधन मर्मतका लागि वर्कशप राखिने छ । त्यहाँ एकै साथ १० वटा सम्म यातायातको मर्मत सम्भार गर्न सकिनेछ ।

बस टर्मिनलभित्र आकर्षक पार्क, प्रतीक्षालय, यात्रुहरु र चालक दलका लागि बेग्ला बेग्लैका शयन कक्ष, सुरक्षा चौकी, स्वास्थ्य चौकी, डिजिटल टिकट काउन्टरहरु हुनेछन् ।

एक हजार वर्ग मिटर क्षेत्रफलमा बस टर्मिनल भित्रै यात्रुहरुले किनमेल गर्न पाउने ३० वटा पसल राख्ने पनि डिजाइन गरिएको छ ।



सम्बन्धित
Loading...