पाठ्यपुस्तक अभाव नहुने, बिक्री वितरणमा भने समस्या
शैक्षिक सत्र २०७८ का लागि पाठ्यपुस्तक अभाव नहुने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले बताएको छ । 
शैक्षिक सत्र २०७८ का लागि आवश्यक पर्ने सम्पूर्ण पाठ्यपुस्तकहरू छपाई भइसकेको र जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालयसम्म पुगिसकेकाले छिट्टै पाठ्यपुस्तक विद्यार्थीहरुको हात हातमा पुग्ने जनक शिक्षा सामग्री केन्द्रका प्रमुख अनिल कुमार झाले बताए ।
यस वर्ष कक्षा ४ देखि कक्षा १० सम्मको पाठ्यपुस्तक १ करोड ७० थान उत्पादन गरी प्रदेश कार्यालयहरूमा पुगिसकेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ ।
विराटनगरमा २३ लाख २ हजार ५२० थान, जनकपुरमा १४ लाख २० हजार ३३ थान, भरतपुरमा १७ लाख ४७ हजार ४५५ थान, बुटवलमा १२ लाख ७९ हजार ४०६ थान, पोखरामा १२ लाख ७३ हजार ११ थान, सुर्खेतमा ११ लाख २१ हजार ९०६ थान, नेपालगञ्जमा १७ लाख ४७ हजार ८३९ थान, धनगढीमा २६ लाख ६५ हजार ५७८ थान र केन्द्रीय कार्यालयमा ३५ लाख २४ हजार ५० थान पाठ्यपुस्तक मौज्दात रहेको जनक शिक्षा सामग्री केन्द्रले जानकारी दिएको छ । केन्द्रले पाठ्यपुस्तक बाहेक अन्य विभिन्न निकायको पुस्तकपनि छापिरहेको बताएको छ ।