नारायणी नदीमा आएको बाढीले चेतावनी तह नाघ्यो
लगातारको बर्षाका कारण नारायाणी नदिमा आएको बाढीले चेतावनी तह नाघेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार नारायाणी नदीले चितवनको देवघाट र रुपन्देहीको बढीगाडमा चेतावनी तह नाघेको हो।
देवघाटमा नारायणीको बाढीको सतह ७.३ मिटरलाई चेतावनी तह मानिन्छ। पछिल्लो पटक गरिएको मापनअनुसार बाढीको सतह ७.५१ मिटर पुगिसकेको छ। पानीको सतह बढ्दो रहेको विभागको बाढी पूर्वानुमान प्रभागले जनाएको छ।
त्यसैगरी बढीगाडमा नारायणीको चेतावनी तह ३.५ मिटर रहेकोमा अहिले बाढीको सतहले ३.५६ मिटर नाघिसकेको छ। चितवनमा पछिल्लो एक घण्टाभन्दा बढी समयदेखि चेतावनी तहको रुपमा वर्षा भइरहेको छ।
नदीमा पानीको बहाव बढ्दै जाँदा सम्भावित जोखिमबाट जोगिन जिल्ला प्रशासन कार्यालय चितवनले यसअघि नै सूचना जारी गरेर सतर्कता अपनाउन अनुरोध गरिसकेको छ। यस्तो अवस्थामा पौडी खेल्न, माछा मार्न, खोलाले बगाएको दाउरा संकलन गर्ने जस्ता कार्य नगर्न प्रशासनले अनुरोध गरेको छ।
सोमबार साँझदेखि परेको झरी असार ३ गतेसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसवर्ष मनसुन धेरै रहेको हुँदा नेपालमा बाढी पहिराको जोखिम गतवर्षभन्दा बढी रहेको महाशाखाले जनाएको छ।
