नारायणीले खतराको सहत पार गरेपछि गण्डक ब्यारेजका सबै ढोका खोलियो
लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ ।
मङगलबार नारायणी नदीको देवघाट जल मापन केन्द्रमा नदीले चेतावनीको सतह पार गरेपछि यस क्षेत्रमा हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको नवलपरासी पूर्व नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले जानकारी दिईन् ।
गण्डक ब्यारेजमा ढोका खोल्ने समयमा दुई लाख क्युसेक पानी मापन गरिएको थियो । सोमबारदेखि परेको लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको बाहव बढ्दा यसले पु¥याउने क्षतिलाई ध्यानमा राख्दै भारतीय पक्षसँगको समन्वयमा सबै ढोका खोलिएको पंगेनीले बताईन् ।
गण्डक ब्यारेजमा दुई लाख पचास हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ ।
पानीको सतहले चेतावनीको तह पार गर्नुपूर्व नै दुवै पक्षको सहमतिमा सबै ढोका खोलिएको हाे । निमार्णको समयमा गण्डक ब्यारेजको क्षमता ७ लाख क्युसेक प्रतिसेकेन्ड भए पनि अहिले यसले ४ देखि ५ लाख क्युसेक प्रतिसेकेन्ड मात्र भार बहन गर्न सक्ने अनुमान छ ।
नदीमा पानीको सतह बढेपछि गण्डक कमाण्डका स्थानीयलाई सजगता अपनाउन जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वले आग्रह गरेको छ ।
अविरल वर्षाको कारण नवलपुर सहित देशभरको जनजीवन प्रभावित भएको छ । नवलपुरमा भने अहिलेसम्म केही अप्रिय घटना नभएको भएपनि नदी तटीय क्षेत्रका स्थानीयलाई सर्तक रहन प्रशासनले अनुरोध गरेको छ । नवलपुरको पहाडी क्षेत्रमा पहिरो र भित्री मधेशमा बाढी तथा तल्लो क्षेत्रमा डुवानको जोखिम रहने गर्छ ।
