राहतको नाममा ठगी धन्दा, नवलपुर प्रशासनले माग्यो वैधानिकताको प्रमाण




नवलपुर । पूर्वी नवलपरासीको गैडाकोट ४ मा आफूलाई सामाजिक अभियान्ता बताउने एक जना महिलाले राहतको नाममा ठगिधन्दा गरेको भन्दै प्रशासनले तिनीसँग वैधानिकताको प्रमाण मागेको छ ।

मानवका लागि मानव सहयोगी केन्द्र सभ्यताको घर नामक संस्थाको नाममा सहयोग संकलन गरेर कोरोनाको कहरबाट पीडित भएकाहरुलाई सहयोग गर्ने बाहानामा संकलित सहयोग दुरुपयोग भएको भन्दै नवलपुर प्रशासनले वैधानिकताको प्रमाण मागेको हो ।




उनले संकलन गरेको सहयोगको स्पष्ट विवरण पनि नभएको, उनले राहत वितरणका लागि सम्बन्धित निकायलाई जानकारी गराएको वा अुनमति लिएको समेत नपाएको नवलपुर प्रशासनले जनाएको छ ।

गैडाकोट निवासी सीता कुँवरको घरमा राखिएको ९८ बोरा चामल प्रहरीले सुरक्षित स्थानमा लगेर राखेको नवलपुरका प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले बताइन् ।

पंगनीका अनुसार उनलाई उक्त सामग्री सुरक्षित स्थानमा राखिएको छ भने कुँवरलाई संस्था दर्ताको प्रमाण, संस्थाले राहत वितरणका लागि सम्बन्धित जिल्ला प्रशासन वा स्थानीय निकायसँग लिएको अनुमति, सहयोग संकलनको विवरण र उनले गरेको राहत वितरणको विवरण मागिएको छ ।

विहीबार उनको घरबाट प्रहरी प्रशासनले ९८ बोरा चामल सुरक्षित स्थानमा स्थानान्तरण गरिएको नवलपुरका प्रहरी प्रमुख प्रकाश मल्लले बताए ।

विहीबार उनको घरबाट ९८ बोरा चामल सुरक्षित स्थानमा सारिएर वैधानिकताको प्रमाण मागेको भए पनि उनले शुक्रबारसम्म वैधानिकताको प्रमाण बुझाउन नसकेको प्रमुख जिल्ला अधिकारी पंगेनीले बताइन् ।

आफूलाई सामाजिक अभियान्ता बताउने सीता कुँवरले नारायणी नदी किनारमा दैनिक ५ सय जनालाई कोरोनाको कहरबाट पीडितलाई दैनिक खाना खुवाउने गरेको दावी गरेकी छिन् ।

उनले फेसबुक लाइभमा आएर आफूलाई देशविदेशमा रहेका नेपालीहरुले गरेको सहयोग प्रहरीले जबरजस्ती छापा मारेर लगेको भन्दै आरोप लगाएकी छिन् ।

प्रमुख जिल्ला अधिकारी पंगेनीले उनले वैधानिकताको प्रमाण पेश गर्न सके उनका ९८ बोरा चालम फिर्ता गरिने समेत बताइन् ।

नवलपुर प्रशासनले यस अघि कोरोनाको नाममा विभिन्न स्थानबाट प्रशासनको अनुमति वेगर सहयोग संकलन गर्ने र मनपरी राहत तथा सहयोग वितरण गर्ने गरेको पाइएकोले विना अनुमति सहयोग लिने र वितरण गर्ने गरेको पाइए कारवाही गर्ने समेत सूचना जारी गरेको थियो ।

उनले दैनिक ५ सय जनालाई नारायणी नदी किनारमा खाना खुवाएको बारेमा समेत प्रशासनलाई कुनै जानकारी नगराएको र दैनिक ५ सय जनालाई जमघट गराएको भए निषेधाज्ञाको उल्लंघन भएको समेत भएको प्रमुख जिल्ला अधिकारी पंगेनीले बताइन् ।



सम्बन्धित
Loading...