सुनवलको बजेट ९२ करोड: पूर्वाधार निर्माणमै जोड
हरि शर्मा –
परासी, ६ असार- पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८०७९ का लागि कुल ९२ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
नगरपालिकाको आइतबार सम्पन्न नवौं नगर सभाले विनियोजन गरेको रकममा पूर्वाधार विकास र शिक्षालाई बढी जोड दिएको छ । सिँचाई र कृषिमा न्यून रकम छुट्टाइएको छ ।
नगर उपप्रमुख दधिराम अर्यालले प्रस्तुत गरेको बजेटमा चालुतर्फ ४० करोड ४० लाख र पूँजीगततर्फ ५१ करोड ७८ लाख छ । वित्तिय व्यवस्थापनतर्फ ३० लाख रहेको छ । जसमा आन्तरिक आर्यतर्फ २० करोड ९ लाख र बाह्यतर्पm ७२ करोड ४० लाख आम्दानीबाट उक्त बजेट तयार गरिएको हो ।
विनियोजित बजेटमा सबैभन्दा बढी सामाजिक विकासतर्फ ३० करोड ८२ लाख छ । जसमा शिक्षातर्फ सबैभन्दा बढी २२ करोड ८९ लाख रहेको छ । स्वास्थ्यतर्फ तुलनात्मक रुपमा बजेटको आकार वृद्धि गरेको जनाउँदै उक्त शिर्षकमा ४ करोड ८३ लाख छुट्टाइएको छ ।
पूर्वाधार विकासतर्फ ३० करोड ४१ लाख छुट्टाइएको छ । उक्त शिर्षकमा सबैभन्दा बढी सडक तथा पुल निर्माणतर्फ १४ करोड ७३ लाख र नाला, कल्भर्ट निर्माणतर्फ ४ करोड ८१ लाख रहेको छ ।
आर्थिक विकासतर्फ ५ करोड ८७ लाख बजेट विनियोजन गरिएको छ । जसमा कृषिमा २ करोड ४७ लाख र पशु सेवातर्फ ९४ लाख रहेको छ । सिँचाईतर्फ ६ लाख छुट्टाइएको छ ।
त्यसैगरी वातावरण तथा विपद् व्यवस्थापनमा ४ करोड ७० लाख र संस्थागत विकास र सुशासनतर्फ ३ करोड ५१ लाख बजेट विनियोजन गरिएको छ ।
बजेटमा कोभिड–१९ का कारण दण्ड जरिवानामा छुट दिइएको छ । सुत्केरी पोषण खर्चमा १ हजारमा वृद्धि गरी ३ हजार पु¥याइएको छ ।
नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख भीम बहादुर थापाले कोभिड–१९ का कारण चालु आ.व.मा सम्पन्न हुन नसकेका योजनालाई निरन्तरता दिदैं स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिकतामा समेटिएको बताए ।
एन्टीजेन परीक्षणपछि मात्रै सभामा प्रवेश
यसैबीच नगर सभामा सहभागी हुने जनप्रतिनिधिसहित सबैलाई कोरोना एन्टिजेन परीक्षणपछि मात्र प्रवेश गराइएको थियो ।
एन्टिजेन परीक्षण गराएका सबैको रिपोर्ट नेगेटिभ आएको नगर स्वास्थ्य प्रमुख कृष्ण प्रसाद न्यौपानेले जानकारी दिए ।
सभामा जनप्रतिनिधिसहित १ सय १६ जना सहभागी थिए । नगरपालिकामा ६८ जना जनप्रतिनिधिहरु छन् ।
सभामा सहभागी भएका ६२ जना जनप्रतिनिधि, ३६ जना कर्मचारी, १० जना पत्रकार र ८ जना होटल कर्मचारीहरूको रिपोर्ट नेगेटिभ आएको न्यौपानेले जानकारी दिए ।
