निषेधाज्ञामा पनि लागुऔषध ओसारपसार, नवलपुरमा २३ जना पक्राउ
रामकुमार श्रेष्ठ –
नवलपुर । पूर्वी नवलपरासीमा निषेधाज्ञाको समयमा पनि लागुऔषध कारोबारीको सक्रियता बढेको पाइएको छ ।
निषेधाज्ञाको समयमा नवलपुरमा लागुऔषध सहित सहित २३ जना पक्राउ परेका छन् । ति मध्ये अधिकांशले सवारी साधन प्रयोग गरेर लागुऔषध ओसारपसार गरेको पाइएको छ भने २ जनाले पैदल लागुऔषध बोकेर हिड्दै गर्दा पक्राउ परेका छन् ।
सवारी साधन प्रयोग गर्नेले भारतीय नम्बर प्लेटको मोटरसाइकलदेखि नेपाली नम्बर प्लेटका मोटरसाइकल र स्कुटी प्रयोग गरेर ओसारपसार गरेको पाइएको छ ।
जेठ १६ गतेदेखि असार ८ गतेसम्ममा १४ वटा टोली पक्राउ परेको हो । पक्राउ परेका २३ जना सबै पुरुष रहेका छन् । पक्राउ परेका अधिकांश १८ देखि २८ बर्ष उमेर समूहका रहेका छन् भने कति ४४ बर्ष उमेरसम्मका समेत रहेका छन् ।
पक्राउ परेका अधिकांश भरियाको रुपमा काम गर्ने रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए । मल्लका अनुसार केही नवलपुरमै अड्डा बनाएर विक्री गर्ने समेत पक्राउ परेका छन् ।
भारतबाट बर्दघाटसम्म भारतीय पक्षले ल्याइदिने र बर्दघाटबाट चितवनसम्म एउटा समूह र चितवनदेखि गन्तव्यसम्म अर्को समूहले पुर्याउने गरेको पाइएको समेत उनले बताए ।
स्रोतका उनीहरुले बर्दघाटदेखि चितवनसम्म पुर्याएको एक पटकको २० हजार रुपैयाँसम्म ज्याला पाउने गर्दछन् ।
भारतबाट बर्दघाटसम्म ल्याउने र त्यहाँबाट चितवन हुँदै नवलपुरको बाटो अधिकांश लागुऔषध पोखरा पुर्याइने गरेको पक्राउ परेकाहरुसँग लिइएको तथ्यांकमा देखिएको प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए ।
बरामद गरिएको लागुऔषधमा डाइजापाम, नुफिन, फेनारागन, नाइट्राजेपाम, ओनेरेक्स, सिरिन्ज, वानरेक्स लगायतका लागुऔषधहरु रहेका छन् ।

