गैँडाकोटको बजेट ८० करोड ६० लाख, बाँझो जग्गारहित नगर कार्यक्रम


गैँडाकोट । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु ८० करोड ५९ लाख ५३ हजार बराबरको बजेट पारित गरेको छ । नगरपालिकाको आज सम्पन्न नवौँ नगरसभामा प्रमुख छत्रराज पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रम एवं उपप्रमुख विष्णुकुमारी कँडेलले प्रस्तुत गरेको बजेट सर्वसम्मत रुपमा पारित भएको हो ।



नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख पौडेलले ‘बाँझो जग्गारहित नगर’, ‘म तरकारीबिना खान्न, म तरकारी किन्न जान्न’, ‘गैँडाकोटको पहिचान स् स्वादिलो मकै’, ‘ शिक्षित छोरी, सक्षम घर’, विदेशबाट फर्किएका नागरिकले सुरु गरेको व्यवसायमा कर छूट, सुत्केरी पोषिलो खाना, महिलासँग उपप्रमुख कार्यक्रम, गरिबीमुक्त गैँडाकोट, कृषिमा सहकारीको लगानी, एकघर एक बिरुवालगायत नयाँ कार्यक्रम घोषणा गरे । नगरप्रमुखको नीति तथा कार्यक्रमलाई केही परिमार्जनसहित आजै पारित गरिएको हो ।

नीति तथा कार्यक्रमका केही विषयवस्तुलाई बजेटले सम्बोधन नगरेको जनाउँदै नगरकार्यपालिका सदस्यले नगरप्रमुखको ध्यानाकर्षण गराएका थिए ।




नगर प्रमुखले सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नगर उपप्रमुख कँडेलले प्रस्तुत गरेको पूँजीगततर्फ रु २६ करोड ४६ लाख तथा चालुतर्फ रु ५४ करोड १३ लाख ५० हजार बराबरको बजेट नगरसभाले पारित गरेको हो ।

त्यस्तै नगरपालिकाको आज सम्पन्न नवौँ नगरसभामा बजेटका साथै आर्थिक विधेयकसमेत सर्वसम्मत रुपले पारित भयो । नगरसभा सदस्यले नारायणी नदी तटीय क्षेत्रका लागि बजेट पर्याप्त नभएको, सहरीकरणसँगै नाला व्यवस्थापन तथा निर्माणका लागि बजेट पर्याप्त नभएको, सुकुम्बासी समस्या समाधान तथा शिक्षा र सञ्चारमाध्यमका लागि कार्यक्रम र बजेटले न्याय नगरेको गुनासो गरेका थिए । त्यस्तै नगरपालिकाभित्र सडकका दायाँबायाँ फूलभन्दा पनि मौसमी फलफूलका बिरुवा रोप्नुपर्नेमा नगरसभा सदस्यहरुले ध्यानाकर्षण गराएका थिए ।



सम्बन्धित
Loading...