यस्तो छ कावासोती नगरपालिकाको नीति तथा कार्यक्रम
कावासोती । कावासोती नगरपालिकाले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । बिहिबार बसेको नवौं नगरसभाले आगामि आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको हो ।
सभामा सभाअध्यक्ष पे्रम शंकर मर्दनिया थारुले प्रस्तुत गरेको नीति तथा कार्यक्रम नवौं नगरसभाबाट पारित भएको हो ।
नीति तथा कार्यक्रम पारित भएको भए पनि बजेट भने असार १७ गते बस्ने नगरसभामा प्रस्तुत हुने उप प्रमुख एवं नगर सभाका सभाध्यक्ष पे्रम शंकर मर्दनिया थारुले बताए ।
कावासोती नगरपालिकाका नगरप्रमुख चन्द्रकुमारी पुन स्वास्थ्य उपचारमा रहेका कारण नगरउपप्रमुख मर्दनियाले नै नगर सभामा नगरपालिकाको नीति तथा कार्यक्रम पेश गरेका थिए ।
नगरसभा अघि बसेको नगरकार्यपालिकाको वैठकमा नीति तथा कार्यक्रम माथि अन्तिम संशोद्धनका लागि छलफल भएपछि नगरसभा २ घण्टा ढिलो शुरु भएको थियो ।
कावासोती नगरपालिकाको नवौं नगर सभामा प्रस्तुत नीति तथा कार्यक्रममा नगरको आर्थिक विकासकालागि कृषिलाई प्राथमिकता दिएको छ ।
कावासोती नगरपालिकाको आर्थिक विकासको प्रमुख आयामका रुपमा कृषि, पर्यटन र प्राकृतिक श्रोत साधन भएकोले यसैमा केन्द्रित रहेर नीति तथा कार्यक्रम ल्याइएको छ ।
कृषि र पशुजन्य उत्पादनमा जोड दिन कृषि तथा पशुपालन नीति बनाई कृषकको सूचिकरण र वर्षिकरण गरि गुणस्तरीय कृषि र पशुजन्य उत्पादन गर्न जोड दिएको छ ।
नगरसभामा उप प्रमुख एवं सभाअध्यक्ष पे्रम शंकर मर्दनिया थारुले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषकहरुको सहताकालागि कृषि र पशु प्रयोगशाला सरुवात गर्ने, प्रतिफलमा आधारित दुधमा अनुदान कार्यक्रमलाई निरन्तरता दिईएको छ ।
पशुजन्य दुध,मासु र अण्डाको स्वच्छ र स्वस्थ उत्पादनकालागि जोड दिएको छ । नीति तथा कार्यक्रमले कोरोना पिडित भएका व्यवसायिक कृषहरुलाई पुर्नस्थापना गर्न उन्नत विउविजन वितरण, कृषिमा यान्त्रीकरण र कृषकको अर्गानिक तरकारी खेती प्रति चासो बढाउने कार्यक्रममा जोड दिएको छ ।
कृषि तथा बाख्रा पकेट क्षेत्र कार्यक्रम, व्यवसायिक माछा पालन, मौरिपालनकालागि नीति तथा कार्यक्रमले जोड दिएको छ ।
प्रस्तुत नीति तथा कार्यक्रमले पर्यापर्यटन, जल पर्यटन, होम स्टे संचालनमा सहयोग र प्रर्वद्धनका कार्यक्रम सञ्चालन गरि स्वरोजगारबनाउने लक्ष्य लिएको छ ।
प्याराग्लाईडिङका लागि आवश्यक पुर्वाधार निर्माण गर्ने, प्याराग्लाईडिङको संचालनकालागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यसैगरी कावासोती नगरपालिकाको नवौं नगर सभामा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८÷०७९को नीति तथा कार्यक्रमले नगरका गौरवका आयोजनाहरु सम्पन्न गर्न प्राथमिकता दिएको छ । श्रोतको व्यवस्थापन गरि गौरवका आयोजना सम्पन्न गर्नकालागि निरन्तरता दिईएको छ ।
नीति तथा कार्यक्रममा नगरपालिका भित्र रहेका सार्वजनिक ,सरकारी प्रती जग्गाको संरक्षणलाई समेत जोड दिईएको छ । त्यस्ता जग्गाको लगत संकलन गरिन नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । भूमिहिन सकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गरी जग्गा धनी पुर्जा वितरणको कार्य गरिने समेत नीति लिईएको छ ।
नदी तथा खोला नियन्त्रण, पूर्ण विद्युतिकरण नगरपाकिला घोषणा गर्न विद्युतिकरण हुन बाँकी सबै घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको पहुँच, खानेपानीको प्रभावकारी व्यवस्थापन, नगर भित्रका सबै सडक यथासम्भव न्यूनतम ६ मिटर कायम गराउने, सम्भव नभएका सडकहरुमा मोजाइक टाइल,ढलान आदिगर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
दिगो विकासको सिद्धान्तमा आधारित भई आवाधि योजनाको साथै क्षेत्रगत योजनाहरु तयार गर्ने, नगरपालिकाबाट कार्यान्वयन हुने तथा अन्य सरकारहरुसँगको सहकार्यमा सञ्चालन हुने गरी योजना बैंक निर्माण गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यसैगरी कावासोती नगरपालिकाको नवौं नगरसभाले सुत्केरी आमा र बच्चाको स्वास्थ्य सुधारकालागि ‘घरमा सुन्य सुत्केरी’ कार्यक्रम संचालन गर्ने भएको छ ।
समुदायमा सुरक्षित सुत्केरी सम्बन्धी चेतना अभिवृद्धि गर्न तथा संस्थागत डेलिभरी संख्या वृद्धि गरि आमा र बच्चाको स्वास्थ्य सुधार गर्न घरमा सुन्य सुत्केरी कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
आमा स्वास्थ्य कार्यक्रम तथा महिला स्वास्थ्य स्वयंसेविका प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिईएको छ ।
नीति तथा कार्यक्रममा जेष्ठ नागरिकको सम्मानमा एक वडा एक जेष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना तथा सम्वर्धन कार्यक्रमको सुरुवात गरिने जनाईएको छ ।
जेष्ठ नागरिकलाई घरैमा स्वास्थ्य परिक्षण गर्ने र आवश्यक मनोसामाजिक परामर्शको व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यसैगरी कावासोती नगरपालिकाको नवौं नगरसभाले पारित गरेको नीति तथा कार्यक्रमले युवाहरुको क्षमता विकासमा जोड दिएको छ । उनीहरुको क्षमता विकास गरि रोजगारीमा संलग्न हुने व्यवस्था मिलाउने उल्लेख गरिएको छ ।
उप प्रमुख पे्रम शंकर मर्दनिया थारुले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा युवाहरुमा बढ्दो दुव्र्यसनी रोक्न सचेतनामुलक कार्यक्रम तथा सकारात्मक सोच विकासकालागि ‘म अघि बढ्छु’ कार्यक्रम संचालन गरिने बताए ।
खेलकुदको विकासकालागि हरेक वडामा खेलमैदान निर्माणमा समेत नीति तथा कार्यक्रमले जोड दिएको छ ।
लैङ्गिक हिंसा विरुद्ध शुन्य सहनशीलता अभियानलाई निरन्तरता दिईने उल्लेख गरिएको छ । लैङ्गिक तथा यौन हिंसामा परेका महिलाहरुको उद्धार संरक्षणको लागि अल्पकालीन आश्रय स्थल संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
शून्य बालविवाहा नगरपालिका बनाउन जनचेतनाका कार्यहरु गर्ने, बाल मैत्री नगरपालिका निर्माणका सूचकमा केन्द्रित रहि कार्यहरु गर्ने, थारु जातिमा बंशाणुगत रुपमा देखा परेको सिकलसेल एनिमिया रोगको विरुद्ध जनचेतनाका कार्यक्रम गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यसैगरी कावासोती नगरपालिकाको नवौं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम मार्फत शिक्षा क्षेत्रमा महत्वपूर्ण कार्यक्रम अघि सारेको छ । नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सरकारी विद्यालयहरुमा अङ्गे्रजी माध्यमको पुस्तक पुर्ण रुपमा निशुल्क उपलब्ध गराउने भएको छ ।
सरकारी विद्यालयमा समेत अङ्गे्रजी माध्यमबाट पठन पाठन हुदै आएका विद्यालयहरुमा यस कार्यक्रमले विद्यार्थीको आकर्षण बढाउने अनुमान गरिएको छ । यसले सामुदायिक विद्यालयमा विद्यार्थीको थप आकर्षण बढाउने साथै कार्यक्रम मार्फत विद्यार्थीहरुमा निशुल्क पाठ्यपुस्तकको वास्तविक प्रत्याभुती हुने विश्वास लिईएको छ ।
यसै गरि नगरको समग्र विकासको लागि नगर शिक्षा विकास रणनीति तयार गरिने समेत नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्राविधिक शिक्षालाई नीति तथा कार्यक्रमले जोड दिएको छ ।
अति विपन्न अवस्थाका विद्यार्थीहरुलाई आर्थिक अभावकै कारण शिक्षाबाट वञ्चित हने अवस्था आउन नदिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । नीति तथा कार्यक्रमले मुसहर समुदायका विद्यार्थीका लागि निशुल्क उच्च शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको छ ।

