चेपाङका चार घर पहिरोले बगायो, तीन घरका सदस्य बेपत्ता
भरतपुर, १७ असार । लगातार परेको वर्षाका कारण जिल्लाकोे पहाडी भेगमा बसोबास गर्ने चेपाङका चार घर पहिरोले बगाएको छ । राप्ती नगरपालिका–१२ वाक्राङका तीन घर र कालिका नगरपालिका–१० सिद्धिको एक घर गएराति पहिरोले बगाएको हो ।
वाक्राङमा पहिरोले बगाएका चेपाङका तीन घरमा बसोबास गर्ने कुनै पनि सदस्य फेला नपरेको स्थानीय सन्दिप चेपाङले जानकारी दिए । विकट बस्ती भएकाले तत्काल त्यस स्थानमा पुगेर उद्धार गर्ने सम्भावना नरहेको राप्ती नगरपालिका प्रमुख प्रभा बरालले बताइन् ।
‘तत्कालै त्यहाँ पुगेर उद्धार गर्न सक्ने सम्भावना छैन । हामीले थप विवरण थाहा पाउन पनि सकिरहेका छैनौँ । सवारी साधन त्यहाँसम्म पुग्न नसक्ने भएकाले मान्छेलाई पैदल पठाउर थप बुझ्ने प्रयासमा छौँ’, उनले भनिन् । तीन घरमा कति जना सदस्य थिए भनेर कुनै विवरण नआएको उनले बताइन् ।
त्यसैगरी, कालिका नगरपालिका–१० सिद्धिस्थित छेरबाङमा मंगलीमाया चेपाङको घर पहिरोले बगाएको छ । घर बगाउँदा ४ वर्षीय बालक घाइते भएको चेपाङको उद्धार तथा संरक्षणमा क्रियाशिल केपी किरण शर्माले बताए । अन्य सदस्यहरु भने भागेर बाँच्न सफल भएको उलने बताए ।