कावासोतीमा बेलैमा सडक मर्मत नगरेको भन्दै स्थानीयले सडकमै रोपे धान
नवलपुर । पूर्वी नवलपरासीको कावासोती नगरपालिकाका बासिन्दाले सडक मर्मत नगरेको भन्दै हिलाम्मे सडकमै धान रोपाइँ गरेर विरोध जनाएका छन् । कावासोती नगरपालिका २ घर्ती चोकस्थित मालमोत र नापी कार्यालय हुदैँ हसौरा झ्यालबास र गिरुवारी जाने सडक वर्षाका कारण हिलाम्मे भएको छ ।
सडक मर्मतको लागि स्थानीयले पटक÷पटक वडा कार्यालय र नगरपालिकालाई आग्रह गरे पनि वेवास्ता गरेको भन्दै बुधबार विरोध स्वरूप सडकमै रोपाइँ गरेका हुन् ।
स्थानीय दुर्गा घर्ती, कोपिला थापा, शान्ती थापा लगायतका स्थानीयले घर्ती चोक लाईनमा हरेक वर्ष वर्षायाममा सडक मर्मत नगरिँदा वडा नं. २ का बासिन्दालाई सास्ती भएको बताएका छन् सडक मर्मतको लागि स्थानीयले पटक÷पटक वडा कार्यालय र नगरपालिकालाई आग्रह गरे पनि नगरपालिकाले सडक मर्मतमा चासो नदिएको उनीहरुको गुनासो छ ।
महिनौँ दिन हुदाँपनि सडक मर्मत नगरिँदा सडकमा ठूलाठूला खाडल परेका छन् । त्यही सडकमा वर्षाको पानी र हिलो जम्दा सडक हिलाम्मे बनेको छ । हिलो सडकमा मोटरसाइकल र साइकल यात्रीले सबभन्दा बढी सास्ती पाएका छन् । पानी र हिलो जमेको खाल्टाखुल्टी सडकमा दुर्घटनाको जोखिम निम्त्याएको स्थानीयहरुको भनाइ छ ।
