नवलपुरमा आजदेखि खोप लगाउँदै, कुन पालिकामा कति डोज
नवलपुर । पूर्वी नवलपरासीमा विहीबारदेखि ५५ बर्ष उमेर समूह माथिकालाई कोभिड १९ विरुद्धको भेरोसिल खोप लगाइने भएको छ ।
विहीबार अर्थात आज विहानैबाट गैडाकोटमा खोप लगाउन शुरु गरिएको छ भने नवलपुरका सबै पालिकामा साउन ३ गते भित्रै खोप लगाइन सक्ने गरी तालिका बनाइएको छ ।
नवलपुरमा यस पटक ५५ बर्षदेखि माथिका उमेर समूह, सवारी साधनका चालक, सहचालक, शैक्षिक संस्थाका शिक्षक तथा प्राद्यापक, विदेश जाँदा अनिवार्य खोप लगाउनु पर्ने उल्लेख गरिएका देशमा जान पर्ने नागरिक र यस अघि खोप लगाउन निर्धारण गरेको र छुटेका समूहलाई खोप लगाइदै छ ।
नवलपुरमा यस पटक १९ हजार ५ सय डोज खोप आएकोमा गैडाकोटलाई ३६४०, देवचुलीलाई २६३०, कावासोतीलाई ४१२०, मध्यविन्दुलाई ३३५०, हुप्सेकोटलाई १५१०, विनयी त्रिवेणीलाई २०४०, बुलिङटारलाई ११८० र बौदीकालीलाई १००० डोज खोप लगाइएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।