लुम्बिनी प्रदेश सभा: बजेट निर्णयार्थ पेस हुनुअगावै सत्तापक्षले बहिस्कार गरे बैठक




बुटवल । लुम्बिनी प्रदेशको प्रदेश सभा बैठकबाट सत्तापक्ष बाहिरिएपछि सदन आधा घण्टाका लागि रोकिएको छ ।

सभामुख पूर्णबहादुर घर्तिले साढे ५ बजेसम्मका लागि सदन स्थगित गरेका हुन् ।




आजको कार्यसूचि अनुसार प्रदेश सभामा बजेट निर्णयार्थ पेस हुनुअगावै मुख्यमन्त्री शंकर पोखरेलसहित सत्ता पक्षका सांसदले संसद बहिस्कार गरेपछि सदन रोकिएको हो ।

यसअघि बैठकमा बजेटका छलफलका क्रममा उठेका प्रश्नहरुको मन्त्रीहरुले उत्तर दिएका थिए ।

मुख्यमन्त्री पोखरेलको जवाफी सम्बोधनपछि सत्तापक्षका सांसद बैठक छाडेर बाहिरिएका हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको दाबी गर्दै विपक्षी गठबन्धन नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, जनता समाजवादीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले बजेटको विपक्षमा मतदान गर्ने निर्णय गरेका थिए ।

८३ सदस्यीय प्रदेश सभामा अहिले नेकपा (एमाले)को पक्षमा तीन जना जसपाको महन्थ ठाकुर पक्षकासहित ४१ र विपक्षी गठबन्धनमा सभामुखसहित ४२ जना छन् । एमालेको सूर्य चिन्ह लिएर नवलपरासीको निर्वाचन क्षेत्र नं. १ (२)बाट निर्वाचित  अजय शाही बिरामी परेको भन्दै अनुपस्थित भएपछि बजेट पास नहुने संकेत पाएर सत्ता पक्षका सांसदले नै बैठक बहिस्कार गरेका हुन् ।



सम्बन्धित
Loading...