पृथ्वी चन्द्र अस्पतालमा लाखौंको औषधि म्याद नाघेर खेर गयो

कारण छानविन गर्न माग



परासी । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा रहेको जिल्ला अस्पताल पृथ्वी चन्द्र अस्पतालले निःशुल्क वितरण गर्न दिएको लाखौँ मूल्यको औषध म्याद सकिएर फाल्नु परेको छ ।



लड प्रेसर, कोलेस्ट्रोल कम गर्ने औषधि लगायतका औषधिहरु म्याद सकिएर नष्ट गर्नु पर्ने अवस्थामा आइपुगेको हो ।
अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मदन नुरुल होदाले आवश्यक भन्दा बढी औषधि आएकाले नियम सङ्गत डिस्पोज गर्न लागिएको बताए । तर, उनले परिणाम भने खुलाएनन् ।

प्रदेश आपूर्ती केन्द्रबाट स्वास्थ्य कार्यालयमा आएको औषधिलाई ‘पुस सिस्टम’ बाट अस्पताललाई आवश्यक भन्दा बढी अर्थात ४० प्रतिशत बढी प्राप्त भएकाले औषधि नसकिदै म्याद सकिएको र अहिले डिस्पोज गर्न लागिएको उनको भनाई थियो ।




अस्पतालमा आएका विरामीलाई औषधि नदिई फिर्ता नपठाइएको भन्दै डा. होदाले सबै विरामीलाई यही औषधि दिन पनि नसकिने बताए ।
यसैबीच लाखौं मूल्य बराबरको औषधि म्याद गुजारेर फाल्नुपर्ने अवस्था आएको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले छानविनको माग गरेको छ ।

विहिबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ध्यानआकर्षण गराउँदै उपभोक्ता हित संरक्षण मञ्चले छानविनको माग गरेको हो । नेपाल सरकार र विभिन्न दातृ निकायबाट प्राप्त असाहाय गरिब तथा विपन्न वर्गका लागि निःशुल्क दिईने उक्त औषधि नष्ट गर्नुुपर्ने अवस्था आउनुको कारण बारे छानविन गर्न माग गरिएको उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सदस्य रामजी ज्ञवालीले जानकारी दिए ।

बिरामीले पाउनुपर्ने औषधि महङ्गोमा किन्नुपर्ने तर अस्पतालमा लाखौँका महङ्गा औषधि फाल्नुपर्ने अवस्था आउनु दुःखद भएको भन्दै छानविन गर्न माग गरिएको ज्ञवालीले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी मिश्रले छानविनको प्रतिवद्धता व्यक्त गरेका छन् ।



सम्बन्धित
Loading...