भिडभाड खोप केन्द्र, स्वास्थ्यकर्मीलाई खोप लगाउन आउनेको भिड थाम्न हम्मेहम्मे
नवलपुर । पूर्वी नवलपरासीमा विहीबारदेखि कोभिड १९ विरुद्धको खोप भेरोसिल खोप लगाउन शुरु गरिएको छ ।
१९ हजार ५ सय जनालाई लगाउन लागिएको खोप विहीबार गैडाकोटबाट शुरु गरिएको थियो भने शुक्रबार नवलपुरका अधिकांश पालिकाले शुरु गरेका छन् ।
५५ बर्ष उमेर समूहदेखि माथि, शिक्षक, चालक सहचालक लगायतलाई यस पटक नवलपुरमा खोप लगाइदै छ । तर, खोप केन्द्रमा भिड थामि नसक्नु भएको छ ।
खोप केन्द्रमा विहान १० बजेदेखि खोप लगाइने भनिए पनि विहानै ८ बजेदेखि नै खोप लगाउनेको लाइन लाग्ने गरेको छ । एका तिर खोप लगाउन आउनेको संख्या अत्यधिक भएको छ भने अर्कोतर्फ खोप लगाउन आउनेले सामाजिक दुरी कायम नगर्दा कोरोना संक्रमण फैलन सक्ने जोखिम उत्ति नै बढेको छ ।
विहीबार गैडाकोटमा अत्यधिक भिड बढेपछि शुक्रबारको खोप रोकिएको छ । गैडाकोट नगरपालिकाले गैडाकोट नगरपालिकालाई उपलब्ध खोप ३ हजार ६ सय २० डोज भेरोसेल खोप पहिलो दिन अर्थात विहीबार नै सकिएको भन्दै सामाजिक सञ्जालमार्फत सूचना छाडेर शुक्रबार अर्थात आज खोप लगाइने कार्यक्रम बन्द गरिएको जनाइएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत यामप्रसाद सुवेदीले नगरपालिकालाई प्राप्त खोप एकै दिन सकिएको बताए ।
शुक्रबार नवलपुरका देवचुली नगरपालिका, मध्यविन्दु नगरपालिका, कावासोती नगरपालिका लगायतका खोप केन्द्रहरुमा खोप लगाइएको छ ।
देवचुली ११ का स्थानीय बासिन्दा पदमराज भट्टराईले खोप केन्द्रमा अत्यधिक भिड भएको र लाइनमा बस्ने भन्दा नाम टिपाएर आउनेले प्राथमिकताको आधारमा खोप लगाइरहेको पाइएको बताए ।
स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले शुरुशुरुमा खोप लगाउन अनिच्छा देखाएका र खोप लगाउन डराएकाहरुले पनि यस पटक खोप लगाउन थालेका कारण चाप बढेको बताए ।
उनले भने – खोप लगाउन ठाउँमा सामाजिक दुरी कायम गर्न र स्वास्थ्य सुरक्षा मापदण्ड पालन गर्न भनेका छौं तर पालना नगरेको गुनासो आएको छ ।
