अवैध रुपमा रहेका भारतीय मोटरसाइकल भटाभट प्रहरी नियन्त्रणमा
दलका नेताहरु सिडिओमा डेलिकेशन
हरि शर्मा –
परासी, ३ साउन- भारतीय नम्बर प्लेटका मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि पश्चिम नवलपरासीका सांसददेखि राजनीतिक दलका नेताहरु सिडिओ कार्यालयमा डेलिकेशन गएका छन् ।
अपराध नियन्त्रण र शान्ति सुरक्षामा सहज ल्याउन भन्दै आइतबारदेखि जिल्ला प्रहरी कार्यालयले भारतीय नम्बर प्लेटका मोटरसाइकलसहित चारपाङ्गे सवारीसाधनलाई चेकजाँचमा कडाइ गर्न थालेको छ ।
प्रहरीले धमाधम मोटरसाइकल नियन्त्रणमा लिन थालेपछि दलका नेताहरुलाई कार्यकर्ताहरुले छुटाउन दबाब दिन थालेका छन् । कार्यकर्ताको दबाबलाई थेग्न नसकेका नेताहरु सर्वदलिय डेलिकेशन भन्दै प्रशासन कार्यालय पुगेर चेकजाँचलाई कडाई नगर्न सिडिओलाई दबाब दिएका हुन् ।
आइतबार डेलिकेशन पुगेका नेताहरुमा प्रदेश सांसद् बैजनाथ जयसवालदेखि नेकपा एमाले, कांग्रेस,माओवादी केन्द्र, जनता समाजवादीलगायतका दलका छन् ।
आइतबार मात्र प्रहरीले ३० भन्दा बढी मोटरसाइकललाई नियन्त्रण लिएको छ । सीमावर्ती ग्रामीणदेखि शहरी क्षेत्रमा भारतीय नम्बर प्लेटका सवारीसाधन छ्याप्छ्याप्ती सञ्चालन हुने गरेका छन् । सर्वसाधारणदेखि जिल्लाका नेताहरुले समेत भारतीय सवारीसाधन लिएर हिड्ने गरेका छन् ।
त्यसरी सञ्चालन हुने अधिकांश मोटरसाइकलमा कागजपत्र नरहेको र भन्सार सुविधा र सहुलियत बिनै खुलेआम चल्न थालेपछि सुरक्षा समितिको बैठकले अभियान नै सञ्चालन गरेर नियन्त्रण लिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बताए ।
‘कागजपत्र बिना हिड्डुल गर्ने त्यस्ता मोटरसाइकलका चालकले हेलमेट नलगाउने र ३ जना सवारी राखेर हिड्ने कार्यले प्रहरीलाई नै चुनौती भयो । त्यति मात्र होइन दुर्घटना गराएर फरार हुँदा सोधखोज गर्न समेत समस्या भएकाले अभियान सञ्चालन गरेका हौं ।’ – जिल्ला प्रहरी कार्यालयका उपरीक्षक मनोज कुमार यादवले भने ।
सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार र अन्य अपराधमा समेत भारतीय नम्बर प्लेटका मोटरसाइकल प्रयोगले समस्या ल्याउन थालेकोले चेकजाँचलाई कडाई गर्न मातहतका सबै युनिटलाई पत्रचार गरेको प्रहरी उपरीक्षक यादवको भनाई छ । जेकजाँचमा पर्ने सबै भारतीय नम्बर प्लेटका सवारीसाधनका लागि प्रहरीले तयार गरेको फर्मेट भर्न अनिवार्य गरिएको छ ।
प्रहरीलाई दबाब दिन नभई चेकजाँचलाई सहज बनाउन र व्यवहारिकतालाई पनि बुझिदिनका लागि डेलिकेशन गएको जनता समाजवादी पार्टीका अध्यक्ष धरेन्द्र यादवले बताए । ‘अहिले नाका बन्द छ । भन्सारबाट सुविधा समेत काट्न पाइदैन त्यस्ता मोटरसाइकलका बारेमा सोँचिदिन आग्रह गरेका छौं । कागजपत्र नहुनेलाई कानुनी कारबाहीमा हाम्रो कुनै गुनासो छैन । सहयोग नै रहन्छ ।’ यादवले भने ।
विदेशबाट आउने सवारीसाधनको हकमा कार, जीप र भ्यानमा दैनिक ५ सय रुपैयाँ र मोटरसाइकल र स्कुटरमा १ सय रुपैयाँ भन्सार महशुल तिरेपछि १ दिनका लागि अस्थायी पैठारी पाउने आर्थिक अध्यादेश २०७८ मा उल्लेख छ । त्यसरी अस्थायी पैठारी पाएकाहरु सोही दिन फर्कनु पर्ने व्यवस्था छ ।
त्यस्तै सोही अध्यादेशमा बिना शुल्क सुविधा लिएर सीमाबाट नजिकको बजारसम्म पुग्न सकिने उल्लेख छ । तर यहाँ सञ्चालन हुने अधिकांश सवारीसाधनले महशुल र सुविधा नलिई महिनौं दिनसम्म निर्धक्क टाढाका बजारसम्म पुग्ने गरेका छन् ।

