साउन ८ देखि नवलपुरमा जोन्सन एण्ड जोन्सन खोप लगाइने
नवलपुर । पूर्वी नवलपरासीमा साउन ८ गतेदेखि १२ गतेसम्म जोन्सन एण्ड जोन्सन खोप लगाइने भएको छ ।
मंगलबार बसेको नवलपुर स्तरीय विपद् व्यवस्थापन समितिको वैठकले १५ हजार ७० डोज जोन्सन एण्ड जोन्सन खोप नवलपुरलाई प्राप्त भएकोमा उक्त खोप साउन ८ देखि १२ गते लगाइने निर्णय गरेको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले बताए ।
यो खोप ५० देखि ५४ बर्ष उमेर समूह, पूर्ण र अति अशक्त अपाङ्गता (वर्ग क र ख) भएका व्यक्ति, यस जिल्लामा बसोबास गरेका शरणार्थीहरु, हालसम्म खोप नलगाएका स्वास्थ्य कर्मी र सरसफाई कर्मी, खोप अनिवार्य गरिएका देशमा नेपाली नागरिकहरुलाई लगाइने छ ।
खोप लगाउनका लागि अहिले बालबालिकाहरुलाई लगाइदै आएको नियमित खोप प्रभावित नहुने गरी तालिका मिलाउन पालिकाहरुलाई जिम्मा समेत दिइएको छ ।
त्यसैगरी वैठकले अघिल्लो पटकको भेरोसेल खोप लगाउन छुटेका लक्षित समूहलाई तत्काल खोपको व्यवस्था गरिने भएकोले केही समय धैर्य गर्न समेत अनुरोध गरिएको छ ।
