निषेधाज्ञामा आर्गेनिक तरकारीबाट आम्दानी जोड्दै होम स्टे
- चन्द्रा महतो –
नवलपुर, ६ साउन । कोरोना कहरमा पाहुनको आगमन शून्य अवस्थामा हुँदा होटल व्यवसायी मात्र होइन, सामुदायिक स्तरबाट खोलिएका सामुदायिक होम स्टेको पनि आम्दानी शून्य छ । बन्दाबन्दीको समय पर्यटकको आगमन नभएपछि होमस्टे सँगै पर्यटकीय क्षेत्रमा पनि मन्दी छाएको छ तर, नवलपुरका कावासोती १० मा रहेको चिलाहा रतवल सामुदायिक होम स्टेले भने बन्दाबन्दीको बीचमा पनि आर्गेनिक खेती गरेर राम्रो आम्दानी गरेका छन् ।
जहाँ इच्छा त्यहाँ उपाय भने झै बन्दा बन्दीको खाली समय सदुपयोग गर्दै यस होम स्टेका सञ्चालकहरुले आर्गेनिक खेती गर्ने र नजिकैका बजार तथा गाउँमा लगेर विक्री गरी राम्रो आम्दानी गरेका हुन् ।
कावासोती १० मा रहेको चिलहा रतवल सामुदायीक ग्रामीण होमस्टेले तरकारी उत्पादन गरेर दैनिक १० देखि १२ हजारको आम्दानी गर्दै आएको छ ।
डव्लुडव्लुएफ र लामिचौर उपधोक्ता समितिको २ लाख ५० हजार आर्थिक सहयोगबाट होमस्टले होमस्टे सञ्चालककै जमिन लिजमा लिएर तरकारी खेती गरेको हो ।
जेठ महिनाको सुरुवाती समयमा बिउ राख्ने तथा बेर्ना लगाएर आर्गेनिक खेती गरेको होम स्टेमा अहिले तरकारी बेच्न योग्य भएको छ ।
तरकारी अहिले दैनीक जसो उत्पादन भैरहेको छ । कावासोती १० मा अवस्थित चिलहा रतवल होमस्टेका १३ सदस्यले सामुहिक रुपमा पहिलो पटक तरकारी खेति गरेको होमस्टेका अध्यक्ष भेष राज महतोले बताए ।
होमस्टेले एक कठ्ठामा एउटा टनेल बनाएर वेमौसमी तरकारी उत्पादन गर्नुको सार्थै १३ कठ्ठा क्षेत्रफलमा करेला, वोडी, घिरम्ला, काक्रो लगायतका तरकारी मलचिङ गरेर खेती गरकोे होमस्टेका अध्यक्ष महतोले बताए ।
वर्षातको समयमा हरेक क्षेत्रमा तरकारीको अभाव हुने हुँदा पनि यो समयमा तरकारीले राम्रो बजार भाउ पाउने गरेको कृषकहरु बताउछन ।
वजार व्यवस्थापनमा कुनै समस्या नरहे तापनि निरन्तरको पानीले केही मात्रामा असर गरेको होमस्टेका व्यवस्थापक प्रेमबहादुर मुखियाले बताए ।
त्यस्तै, अहिले तरकारीको मूल्य निर्धारण नहुँदा समस्या भएको छ । सरकारले स्थानीय स्तरमा तरकारीको मूल्य निधारण नगर्दा पनि समय समयमा समस्या हुने गरेको छ । यथार्थ कृषकले भन्दा पनि विचौलियाले फाइदा लुट्ने गरेको होमस्टेका अध्यक्ष भेषराज महतोले बताए ।
कोरोनाको कहरले गर्दा थिलोथिलो परेको होमस्टे आर्गेनिक आर्गेनिक तरकारी उत्पादन गरेरैे केही हदसम्म भए तापनि माथि उठ्ने प्रयत्नमा छ ।
