शिक्षण पेसाबाट पलायन भएका शिक्षकहरु वैकल्पिक पेसा अपनाउन थाले
कोरोना भाइरसको सङ्क्रमणको असर शिक्षा क्षेत्रमा पनि देखिएको छ । एकातिर विद्यार्थीहरु भौतिकरुपमै कक्षामा उपस्थित भएर अध्ययन गर्न पाएका छैनन् भने अर्कोतिर संस्थागत विद्यालयका शिक्षकहरु नै पेसाबाट पलायन भइरहेका छन् ।
संस्थागत विद्यालयका शिक्षकहरुको हकहितका लागि लड्दै आएको इस्टु चितवनका पूर्वअध्यक्ष तथा केन्द्रीय उपाध्यक्ष केशव पाठकले कोरोना भाइरसका कारण संस्थागत विद्यालयका कक्षाहरु भौतिकरुपमा सञ्चालन हुन नसक्दा चितवनका संस्थागत विद्यालयका २५ प्रतिशत शिक्षकहरु प्रभावित भएको बताए ।
सबैभन्दा बढी पूर्वप्रावि र प्राविका शिक्षकहरु मर्कामा परेको उनले बताए । उनले भने, ‘पूर्वप्रावि र प्राविमा अनलाइन कक्षाहरु निकै कम चलेका छन्, जसका कारण यो तहमा पढाउने शिक्षकहरु कति पलायन भएका छन्, कति पछि कक्षा चलेपछि आउने सर्तमा घरमा बसिरहेका छन् । कतिले शिक्षण पेसा नै छोडेर वैकल्पिक पेसा अपनाएका छन् ।’
शिक्षण पेसाबाट पलायन भएका शिक्षकहरु वैकल्पिक पेसा अपनाएको उनी बताउँछन् । उपाध्यक्ष पाठकले भने, ‘कोही कृषि पेसामा गएका छन्, कोहीले कुखुरा पालेका छन्, कोही स्टेसनरी र किराना पसल चलाइरहेका छन् ।’ भौतिक कक्षाहरु चल्दा जति शिक्षक तथा कर्मचारी चाहिन्छ, अनलाइन कक्षामा त्यति नै चाहिँदैन, जसका कारण संस्थागतका शिक्षक तथा कर्मचारी विस्थापितमा परेका उनी दाबी गर्छन् ।
उपाध्यक्ष पाठकले ठूला संस्थागत विद्यालयका शिक्षकहरु भन्दा साना संस्थागत विद्यालयका शिक्षकहरु बढी पीडामा परेको बताए । उनले भने, ‘ठूला संस्थागत विद्यालयहरुले हाललाई पारिश्रमिक कम दिएर भए पनि शिक्षकहरुलाई धानेका छन्, तर साना संस्थागत विद्यालयहरुबाट शिक्षकहरु पलायन भइरहेका छन् ।’
चितवन इस्टुका अध्यक्ष जनकराज घिमिरेले संस्थागत विद्यालयमा शिक्षकहरु सुरक्षित हुन नसकेपछि अन्य पेसामा लागेको बताउँछन् । उनी भन्छन्, ‘चितवनका १० प्रतिशत शिक्षकहरु पलायन भएका छन्, १५ प्रतिशत शिक्षक घरमै निष्क्रिय भएर बसिरहेका छन्, आधाभन्दा बढी शिक्षकहरु न्यून पारिश्रमिकमा चित्त बुझाइरहेका छन् ।’
उनले संस्थागत विद्यालयका शिक्षक तथा कर्मचारीको अवस्थाका बारेमा सम्बन्धित पालिकाका शिक्षा शाखाबाट बुझ्ने काम पनि नभएको बताए । उनले भने, ‘संस्थागत विद्यालयले कति शुल्क उठाइरहेको छ, शिक्षकहरुको अवस्था कस्तो छ ? त्यस विषयमा शिक्षा शाखाले अनुगमन गर्न पर्दैन ?’ उनले भने । उनले निष्कासनमा परेका चितवनका १० जना शिक्षकहरुलाई पुनर्बहाली गर्न सफल भएको बताए ।
संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष सूर्यकान्त न्यौपानेले संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको समस्या छलफलबाट समाधान गर्न सकिने बताए । उनले भने, ‘संस्थागत विद्यालयका सञ्चालकले शिक्षकहरुलाई खुसी पारे गुणस्तर निस्कन्छ भन्ने राम्रोसँग बुझेका छन्, त्यसैले सकेसम्म शिक्षक तथा कर्मचारी मर्कामा नपरुन् भन्ने चाहेका हुन्छन् तर अहिले अवस्था सहज छैन । संस्थागत विद्यालयमा विद्यार्थीबाट शुल्क कति उठिरहेको छ भन्ने विषयमा पनि शिक्षकहरुले हेक्का राख्नुपर्छ ।’
प्याब्सन चितवनका अध्यक्ष टीकाराम चापागाईंले संस्थागत विद्यालयमा कोरोनाको असर परेको बताए । उनले भने, ‘भौतिकरुपमा कक्षाहरु चल्न सकेका छैनन्, अभिभावकबाट शुल्क उठिरहेको छैन ।’ कुनै पनि संस्थागत विद्यालयले एक जना शिक्षकलाई पनि निष्कासन नगरेको दाबी प्याब्सनले गरेको छ ।