नवलपुरः बल्लबल्ल खुलेको विद्यालय फेरि बन्द
नवलपुर । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिकाका संस्थागत र सामुदायिक विद्यालय केही समयका लागि बन्द गरिने भएको छ ।
शुक्रबार बुलिङ्गटार गाउँपालिकाले विज्ञप्ती जारी गर्दै गाउँपालिकामा संचालन भएका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
गत साउन एक गते देखि गाउँपालिकामा संचालन भएका सम्पूर्ण विद्यालय साउन १७ गते आइतबार देखि साउन मसान्त सम्म बन्द गरिने भएको हो ।
बुलिङ्गटार गाउँपालिका गाउँ शिक्षा समितिको गत असार २२ गतेको निर्णय अनुसार गत साउन १ गते देखि गाउँपालिकाका सम्पूर्ण विद्यालय विहान १०ः०० बजे देखि बेलुकी ४ः०० बजे सम्म स्वास्थ्य सुरक्षा मापदण्ठ पालन गरि पठनपाठन शुरु गरिएको थियो ।
हाल विद्यालयका केही शिक्षकशिक्षिका र विद्यार्थीमा कोभिड १९ को लक्षण देखा परेकाले स्थिति भयावह हुन सक्ने भन्दै साउन मसान्तसम्मका लागि बुलिङ्गटार गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिए ।
गाउँपालिकाले शिक्षक कर्मचारी विद्यालयको शैक्षिक योजनाहरु निर्माण लगायत विद्यालयसँग सम्बन्धीत काम गर्नका लागि अनिवार्य स्वास्थ्य मापदण्ड अपनाएर विद्यालयमा उपस्थित हुन सक्ने जनाएको छ ।
