पारस शाहद्वारा ड्यूटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार


पूर्वयुवराज पारस शाहले ड्यूटीमा खटिएका प्रहरीमाथि दुर्व्यवहार गरेका छन् । महाराजगञ्जस्थित नारायणगोपाल चोकमा शुक्रबार साँझ ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा उनले दुर्व्यवहार गरेका हुन् ।



काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार हेलमेट नलगाई आएका शाहलाई ट्राफिक प्रहरीले रोकेका थिए । मादक पदार्थसमेत सेवन गरेका उनी प्रहरीले सोधपुछ गर्न थालेपछि प्रहरीमाथि जाइलागेको सिंहले बताए ।

प्रहरीले शाहलाई नियन्त्रणमा लिन खोज्दा घम्साघम्सी समेत भएको हालै सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पनि देखिन्छ । प्रहरीले चौकीमा लैजान खोज्दा उनले ‘जान्न, यहीं बस्छु’ भन्दै प्रहरीसँग वादविवाद गरेका थिए । त्यसक्रममा चोकमा सवारी जामसमेत भएको थियो ।




तनाव घट्ने स्थिति नदेखेपछि ट्राफिक प्रहरीले सञ्चार सेटमार्फत प्रहरी कन्ट्रोललाई थप मद्दतको टोली मगाएको सुनिन्छ । एक ट्राफिक प्रहरीले सेटमा भनेका छन्, ‘पारस शाह रक्सी खाएर एकदम लफडा गरिरहेको छ, गाडी तुरुन्त पठाउनु त ।’

कतिपय सर्वसाधारणले ‘आम जनता थियो भने प्रहरीले अघि नै गाडीमा हालेर लगिसक्ने बताउँदै’ प्रहरीप्रति पनि आक्रोश व्यक्त गरेका थिए । केहीबेरमा शाहको समर्थकले पनि उनको पक्षमा नारा लगाएको सुनिन्छ ।

‘पछि सम्झाइबुझाइ गरेर हेल्मेट लगाउन लगाएर पठायौं’ एसएसपी सिंहले  भने ।



सम्बन्धित
Loading...