क्रान्तिकारी माओवादीले कब्जा गर्यो ५० विघा जग्गा
क्रान्तिकारी माओवादीले माडीमा रहेको करिब ५० विघा जग्गा कब्जा गरेको छ । ट्वान्टी वान ग्रुप नामक संस्थाको नाममा रहेको जग्गा माओवादीले कब्जा गरेको हो ।उक्त जग्गा कलाकार किरण केसी “राता मकै “को भएको बताइएतापनि बताएपनि उक्त जग्गा आफ्नो नरहेको र आफु उक्त कम्पनीको ब्राण्ड एम्बेसडर मात्र रहेको कलाकार केसीले चितवन पोष्टलाई बताएका छन्।
भुमाफियाको नाममा रहेको जग्गा कब्जा गरिएको नेपाल क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य घननाथ सापकोटाले बताए । ‘काठमाडौँ बस्ने भुमाफियाको ट्वान्टी वान ग्रुपको नाममा माडीमा रहेको जग्गा कब्जा गरेको घोषणा गरेका छौँ’, उनले भने ।
माडी नगरपालिकाका मेयर ठाकुर प्रसाद ढकालले नगरकै निति विपरित कृषियोग्य जग्गा खण्डिकरण गर्न मालपोतलाई गोप्य रुपमा स्वीकृति दिएको भन्ने विषय बाहिर आएपछि व्यापक विरोध भएको थियो । विरोधपछि जग्गाको कित्ताकाट रोकिएको छ ।
माडीका मेयर ढकालले भुमाफियासँग करोडौँ रुपैयाँ कमिशन खाएर कृषियोग्य जग्गा कित्ताकाट गर्न स्वीकृति दिएको उनले बताए । क्रान्तिकारी माओवादीले कलाकार केसीको संस्थाको नाममा रहेको माडी–२ ढिकुन, माडी–३ पौवारी र धावाहा लगायतको जग्गा कब्जा गरेको हो । कब्जा गरिएको उक्त जग्गा सुकुम्बासीहरुलाई वितरण गरिने उनको भनाइ छ ।
