मोटरसाईकल चोरीमा संलग्न ३ जना पक्राउ
महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट २ वटा पल्सर मोटरसाइकल सहित चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ । उपत्यकाको बिभिन्न स्थानहरूबाट हुने मोटरसाईकल चोरीका घटनाहरुलाई न्युनिकरण गर्न सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरि चोरीमा संलग्न गिरोहलाई बिशेष निग्रानी गर्न, सुचना संकलन गर्न र त्यस्ता व्यक्तिहरुलाई पक्राउ गर्न बिशेष अभियान संचालन भैरहेको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताए । 
चोरीमा संलग्नहरुलाई पक्राउ गर्न परिचालित टोलीले एक हप्तादेखिको निरन्तर सुचना संकलन र निग्रानी पश्चात हिजो साँझ पल्सर मोटरसाईकल सहित भक्तपुरबाट तीनैजनालाई पक्राउ गर्न सफल भएको र अन्य संलग्नहरुको समेत सुचना संकलन गर्ने र खोजतलास गर्ने कार्य भईरहेको उनले बताए ।
भक्तपुर सरस्वतीखेलका बासुदेव खड्काको आफ्नै घर अगाडीबाट २०७६ सालमा हराएको उक्त मोटरसाईकल सहित रामेछाप घर भई भक्तपुर बस्ने बर्ष १९ को दिपेन्द्र भुजेल र ताप्लेजुङ्गका १९ बर्षे बिशेष लिम्बु पक्राउ परेका हुन । बास्तबिक नं बा ९७ प १३०५ भएको कालो, रातो रङको १५० सी.सीको उक्त पल्सर मोटरसाईकलको नम्बर परिबर्तन गरि बा ९५ प ४१६८ भएको अबस्थामा ट्राफिक टोलीले पक्राउ गरेको महाशाखाले जनाएको छ ।
ट्राफिक प्रहरीले थप अनुसन्धान गरि पशुपति क्षेत्रबाट हराएको किर्तिपुर बस्ने प्रशान्त रावलको बा ९६ प ८८३६ नं को कालो एनएस पल्सरको बास्तबिक नम्बर परिबर्तन गरि बा ९१ प ८६७२ नम्बर प्रयोग गरेको अबस्थामा धनुषा मिथिलाका २१ बर्षिय बिकल थापालाई समेत भक्तपुरबाटै नियन्त्रणमा लिएको हो ।
पक्राउ परेको मोटरसाईकल सहित तिनै जनालाई थप अनुसन्धान एव कानूनी कार्बाहीको लागी प्रहरी बृत्त ठिमीमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ । गत आवमा मोटरसाइकल चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरी चोरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ भने हराएका ३९७ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।