एसईईको नतिजा प्रकाशित, कक्षा १२ को परीक्षा स्थगित
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशित गरेको छ ।
विद्यार्थी अध्ययन गरेकै विद्यालयले गरेको मूल्यांकन देशभरबाट संकलन गरी बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो । विद्यालयबाट आएको मुल्यांकनलाई प्रमाणीकरण गरी सार्वजनिक गरिएको परीक्षा नियन्त्रक रुद्र प्रसाद अधिकारीले जानकारी दिए ।
विद्यालयको आन्तरिक मूल्यांकनलाई नै प्रमाणीकरण गरेकोले यो वर्ष पनि बोर्डले नतिजा विश्लेषण नगरेको उनले जानकारी दिए ।
बोर्डले एसईईको नतिजा विभिन्न फर्म र संस्थाबाट समेत सार्वजनिक गर्ने जनाएको छ । बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कन्सेपट प्लस, एडुसञ्जाल, नेपाल टेलिकम, ईकान्तिपुर र एनसेलको वेबसाइटबाट सार्वजनिक गरेको छ ।
यस्तै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आज बसेको बोर्डको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले जानकारी दिए ।
कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकोले स्थगित गरेको उनले बताए ।
यसअघि कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले कोरोना संक्रमण बढ्दै गएको कारण तत्काल परीक्षा गर्न नसक्ने भन्दै बोर्डलाई नयाँ मिति तय गर्न पत्राचार गरेको थियो ।
