नवलपुरका ७ दलले मुख्यमन्त्रीलाई बुझाए नवलपुर विकासको साझा अवधारणा

आफूले सकेको गर्ने मुख्यमन्त्रीको प्रतिबद्धता 


नवलपुर, २३ साउन । पूर्वी नवलपरासीमा रहेका ७ दलले तयार पारेको नवलपुर क्षेत्रको विकासको साझा अवधारणा शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेललाई बुझाएका छन् ।



हालको सत्ताधारी दल र केही सत्ता बाहिरका दलले नवलपुर जिल्लाको समग्र विकासको अवधारणा तयार पारेर उक्त अवधारणा अनुसारको काम गर्न माग गर्दै मुख्य मन्त्री नेपालीलाई उक्त माग बुझाएका हुन् ।

गठबन्धनको साझा अवधारण सम्बन्धि माग पत्र बुझ्दै मुख्य मन्त्री नेपालीले नवलपुरको विकासका लागि दलहरुले तयार पारेको साझा अवधारणा अनुसार आफू काम गर्ने तयार रहेको बताए । उनले भने – केही केन्द्रिय सरकारले गर्नु पर्ने निर्णयहरु पनि छन् त्यसका लागि केन्द्रिय सरकारसँग पनि पहल गर्ने छु । मैले आफ्नो ठाउँबाट गर्न सक्ने गर्ने छु ।




नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, विवेकशिल साझा पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले संयुक्त रुपमा धारणा बनाएका हो ।

संयुक्त अवधारणा गण्डकी प्रदेशका मुख्यमन्त्री नेपालीलाई नेकपा माओवादी केन्द्र नवलपुरका सचिव मित्रशरण शर्मा विहानीले हस्तान्तरण गरेका थिए ।

७ दलले नमुना सदरमुकामको डिपिआरको अध्ययन र सम्बन्धित निकाययमा काम अघिको बढाउनका लागि पहल गर्ने, जिल्ला स्तरीय खेलकुद रंगशाला निर्माणको लागि माग गर्नेदेखि जिल्लामा डोमेस्टिक एयर पोर्ट निर्माणको लागि माग गर्ने लगायतका १३ बुदे अवधारणा रहेको छ ।

जसअन्तरगत नारायणी तट्बन्धन, सडक निर्माण, वन्यजन्तुबाट समुदायमा हुने क्षति रोक्नका लागि तारबार र वालनिर्माण, पिस पार्कको समग्र प्रोजेन्टको लागि माग गर्ने, मौलाकालिका देखि धौवादी हुँदै पाल्पा मित्याल जोड्ने पर्यटकीय पैदल मार्ग निर्माणको लागि माग गर्ने रहेका छन् ।

त्यसैगरी चुरे महाभारतबाट उत्पत्ति भई नारायणी नदीमा जोडिने ठाडा खोलाहरुको तटबन्ध गर्न माग गर्ने, साथै उक्त खोलाहरुमा प्राप्त हुने नदीजन्य स्रोतहरुको व्यवस्थापन गर्न सम्बन्धित निकायहरुसँग छलफल र ध्यानाकर्षण गर्ने, कृषि क्षेत्रसँग सम्बन्धित कृषि उद्योगको माग गर्ने, पूर्वपश्चिम राजमार्गको मध्यविन्दुमा पार्क निर्माण, त्रिवेणी दुम्किबास झ्यालबास हुँदै पोखरा र उत्तरी नाका कोरला जोड्ने प्रदेश स्तरीय मार्गलाई छिटो सञ्चालनमा ल्याउन माग गर्ने साझा अवधारणा बनाएका छन् ।

त्यसैगरी भृकुटी कागज कारखाना र धौवादी फलाम खानी उद्योग सञ्चालनका लागि ध्यानाकर्षण गराउने, जिल्लामा प्राविधिक विश्व विद्यालय निर्माणको लागि माग गर्ने लगायतका रहेका छन् ।

त्यसैगरी शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोख्रेललाई देवचुली उद्योग वाणिज्य संघले सम्मान गरेको थियो भने नेल्टा नवलपुरले आयोजना गरेको कार्यक्रममा पनि मुख्यमन्त्री नेपाली सहभागी भएका थिए ।

मुख्यमन्त्री नेपाली सँगै नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका प्रमुख सचेतक ओमकला गौतम पनि शनिबारका कार्यक्रममा सहभागी थिए ।

त्यसैगरी मुख्यमन्त्री नेपालीले शनिबार कावासोतीमा रहेको केरुङे खोलाले पुर्याएको क्षतिको अनुगमन र कावासोती ६ को वडा कार्यालय निर्माण स्थलको निरीक्षण समेत गरेका थिए ।



सम्बन्धित
Loading...