उखु किसानको १५ करोड नतिर्ने वीरेन्द्र कनौडिया सात महिनापछि लुम्बिनीको मुख्यमन्त्री बन्दै, बक्यौता तिर्ने टुंगो छैन

किसानले दिएको ५ भदौसम्मको अल्टिमेटम सकिन लाग्यो, भुक्तानीमा प्रगति शून्य


उखुको रसको चिनी बनाएर बेचे पनि उखुको भुक्तानी नदिएर किसानलाई रुवाइरहेका वीरेन्द्र कनौडिया नै सात महिनापछि लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्दै छन् । कनौडियाको महालक्ष्मी सुगर मिल कपिलवस्तुमा थियो, जहा“बाट उनी प्रदेश सभामा निर्वाचित भएका थिए । ०७५ सालमा उनले सर्लाहीको गोडैता नगरपालिकामा मिल स्थानान्तरण गरे । कपिलवस्तु, नवलपरासी र सर्लाहीमा गरी उनको चिनी मिलले १५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको किसानहरूको भनाइ छ ।



सर्लाहीमा मिल स्थानान्तरण गरेपछि पहिलो क्रसिङ (०७६ को सिजन) कै ६ करोड बक्यौता छ । ‘यो वर्ष पनि ६ करोडजति गरेर कुल १२ करोड रुपैयाँ महालक्ष्मी सुगर मिलले दिन बाँकी छ,’ उखु किसान संघर्ष समिति, सर्लाहीका अध्यक्ष रामस्वार्थ राय भन्छन् । किसानका गुनासा यत्तिमै सिद्धिँदैनन् । पहिलो वर्ष नै किसानलाई प्रतिक्विन्टल ३६ रुपैयाँ कम दरले भुक्तानी दिएको रायले बताए ।

‘महालक्ष्मी सुगर मिलले अरूलाई पनि ठग्न सिकायो,’ राय भन्छन्, ‘समर्थन मूल्य ४ सय ७१ रुपैयाँ प्रतिक्विन्टल रहँदा जिल्ला प्रशासन कार्यालयमा बैठक राखेर सुरुको वर्ष नोक्सान हुन सक्ने भन्दै प्रतिक्विन्टल ३६ रुपैयाँ कमले किसानलाई भुक्तानी दिन सहमति गराएको थियो । महालक्ष्मीले तौलमा पनि १० देखि २० प्रतिशतसम्म ठगेको उनले बताए ।




नवलपरासीको लुम्बिनी चिनी मिलले सरकारी अनुदानसहित ३ करोड रुपैयाँ दिनुपर्ने किसानहरूको तथ्यांक छ । सो मिलले पनि ४ सय ७१ रुपैयाँ प्रतिक्विन्टलका दरले नदिएर ३ सय ८५ रुपैयाँ प्रतिक्विन्टलले किसानलाई भुक्तानी दिएको राष्ट्रिय कृषि श्रमिक संघका महासचिव गोपाल यादवले बताए । उनी नवलपरासीका उखु किसान हुन् । ‘सरकारले तोकेभन्दा प्रतिक्विन्टल ८६ रुपैयाँ कमका दरले भुक्तानी दिएर सो मिलले करिब २ करोड रुपैयाँ अझै दिन बाँकी छ,’ यादवले भने, ‘त्यस्तै सरकारी अनुदानबापतको रकम पनि १ करोड रुपैयाँभन्दा बढी बक्यौता छ ।’

तर, महालक्ष्मी सुगर मिलले बारम्बार विज्ञप्ति प्रकाशित गरी किसानहरूको बक्यौता बाँकी नरहेको जिकिर गर्दै आएको छ । उद्योगले २७ पुस ०७५ मा जिल्ला प्रशासन कार्यालयमा सरकारी अधिकारी र राजनीतिक दलको उपस्थितिमा प्रतिक्विन्टल ३५ रुपैयाँ कम दरमा उखु किन्ने सहमति भएको र सोहीअनुसार उखु खरिद गरी सबै किसानलाई भुक्तानी दिएको दाबी गरेको छ । तर, किसानहरूले यसमा असहमति जनाउँदै सरकारले तोकेको समर्थन मूल्यमै भुक्तानी दिनुपर्ने अडान लिँदै आएका छन् । साथै, यो वर्षको बक्यौता, विगतको सरकारी अनुदान अपचलनसहित कुल १२ करोड रुपैयाँ महालक्ष्मी सुगर मिलबाट लिनुपर्ने भन्दै किसानहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

महालक्ष्मी मात्रै होइन, अन्नपूर्णलगायत अन्य चिनी कारखानाले उखु किनेबापतको रकम भुक्तानी नगरेका सर्लाही र नवलपरासीका किसान रोपाइँ छाडेर साउनको दोस्रो साता काठमाडौं आएका थिए । देशभरका ६ चिनी मिलले भुक्तानी गर्नुपर्ने ४१ करोड रुपैयाँ तत्काल दिलाइदिन उनीहरूले सरकारको ध्यानाकर्षण गराए । पत्रकार सम्मेलन गरी बक्यौता तिर्न ५ भदौको ‘डेडलाइन’ दिएर पैसो नपाए आन्दोलन गर्ने चेतावनी दिएर घर फर्किए । किसानले दिएको डेडलाइन सकिनलाग्दासम्म पनि किसानको भुक्तानी दिलाउनेतर्फ ठोस पहल हुन सकेको छैन ।

किसानको चेतावनीपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मीलगायतका सरकारी कर्मचारीहरू उखु किसानका प्रतिनिधिसँग निरन्तर छलफलमा छन् । यसबीचमा ३–४ पटक सरकारी कर्मचारीसँग छलफल भए पनि टुंगो नलागेको उखु किसानका संरक्षक राकेश मिश्रले बताए । ‘सरकारले हिसाब देखाएभन्दा २५ करोड रुपैयाँ बढी विभिन्न उद्योगबाट लिन बाँकी रहेको हाम्रो गणना छ, त्यसलाई टुंगो लगाउन एउटा कार्यदल बनाइयो र त्यही कार्यदलको प्रतिवेदनअनुसार २५ करोड दिलाउने कुरा थियो,’ उनले भने, ‘तर, कार्यदलले प्रतिवेदन बनायो तर त्यसमा २५ करोड रुपैयाँ उठाउने विषयमा ठोस कुरा छैन । त्यसैले हामीले प्रतिवेदनमा हस्ताक्षर पनि गरेका छैनौँ ।’

किसानले दाबी गर्दै आएको २५ करोड बक्यौताबारे फेरि सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर विवरण संकलन गर्ने र सो विवरण उद्योग मन्त्रालयमा सिफारिस गरी पठाएअनुसार काम–कारबाही अगाडि बढाउने प्रतिवेदनमा उल्लेख छ । किसानहरूले यो विषय नटुंगिएसम्म छलफल निष्कर्षमा नपुग्ने दाबी गरेका छन् । मन्त्रालयकी उपसचिव उर्मिला केसीले किसान प्रतिनिधिसँग छलफल भइरहेको र ५ भदौअगाडि नै टुंगोमा पुग्ने प्रयत्न भइरहेको बताइन् । ‘किसानले पाउनुपर्ने बक्यौता रकम धेरै देखिँदैन । त्यसैले चाँडै एउटा टुंगोमा पुग्छौँ,’ उनले भनिन् ।

उखु बेचेको पैसा पाउन हदैसम्मको सास्ती खेप्नुपरेको उखु किसान संघर्ष समिति, सर्लाहीका अध्यक्ष रामस्वार्थ राय गुनासो गर्छन् । पीडित किसानहरूले गत वर्ष २८ मंसिरदेखि काठमाडौं आएर माइतीघरमा धर्ना दिएका थिए । १३ पुसमा सरकारसँग सम्झौता गर्दै सबै बक्यौता उठ्ने आश्वासन पाएका किसानले त्यसयता निरन्तर सरकारी अधिकारीसँग सम्पर्क गर्दा निराश भएको बताएका छन् ।

उखु किसान संघर्ष समिति, सर्लाहीको तथ्यांकअनुसार त्यहाँका दुई ठूला मिल महालक्ष्मी सुगर मिलले यो वर्षको समेत गरी १२ करोड रुपैयाँ र अन्नपूर्ण सुगर मिलले समेत १२ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ । त्यस्तै, रौतहटको श्रीराम सुगर मिलले ३ करोड १४ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उखु किसानलाई सघाइरहेका जसपा नेता राकेश मिश्रले जानकारी दिए । तर, मिलले भने सबै किसानको भुक्तानी दिइसकेको र कुनै किसानको भुक्तानी बाँकी रहेको भए प्रमाणित कागजातसहित उपस्थित हुन आग्रह गरेको छ ।

त्यस्तै, नवलपरासीका उखु किसान गोपाल यादवका अनुसार त्यहाँका तीनवटै चिनी मिलले बक्यौता शून्य पारेका छैनन् । लुम्बिनी सुगर मिलले ३ करोड, इन्दिरा सुगर मिलले ४ करोड र बागमती खाँडसरी चिनी मिलले ५० लाख रुपैयाँ तिर्न बाँकी छ । तीनवटै मिलले सरकारबाट लिएको किसानलाई दिनुपर्ने अनुदानबापतको रकम पनि दिएका छैनन् । सरकारले उखु किसानलाई प्रतिक्विन्टल उखुमा ६५ रुपैयाँ अनुदान दिन्छ, जुन मिल सञ्चालकले उखुको भुक्तानी गर्दा दिनुपर्छ ।

गत वर्ष ८९ करोड ४० लाख रुपैयाँ बक्यौता उठाउन बाँकी रहेकोमा किसानहरूको आन्दोलनपछि ३३ करोड ५० लाख रुपैयाँ उठेको थियो । त्यतिखेर सरकारी पक्षले चिनी मिलबाट ६५ करोड रुपैयाँ मात्र किसानले पाउने तथ्यांक देखाएको थियो । – नयाँपत्रिकाबाट साभार



सम्बन्धित
Loading...