हुप्सेकोटले पछिल्लो ४ बर्षमा कहिल्यै पनि पुरा बजेट खर्चिन सकेन


रामकुमार श्रेष्ठ –
नवलपुर। पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएर आएपछि पछिल्लो ४ बर्षमा कहिल्यै पनि पुरा बजेट खर्चिन सकेको छैन।



हुप्सेकोट गाउँपालिकाका अध्यक्ष लक्ष्मी पाण्डेका अनुसार पहिलो बर्ष अर्थात आर्थिक बर्ष ०७४/०७५ मा कुल बजेटको ७५ दशमलब ७५ प्रतिशत मात्र खर्च भएको छ। यो बर्ष ३३ करोड ६५ लाख बजेट विनियोजन भएकोमा २५ करोड ८९ लाख मात्र खर्च भएको छ। जसमा चालुतर्फ १३ करोड ६० लाख र पूँजिगत तर्फ १२ करोड २८ लाख मात्र खर्च भएको छ ।




त्यसैगरी आर्थिक बर्ष ०७५/०७६ मा ३८ करोड ३८ लाख बजेट विनियोजन भएकोमा ३१ करोड ६१ लाख अर्थात ८२ दशमलब ३७ प्रतिशत मात्र खर्च भएको छ । जसमा चालुतर्फ १६ करोड ६ लाख अर्थात ८४ दशमलब ५४ प्रतिशत र पूजिगततर्फ १५ करोड ५५ लाख अर्थात ८० दशमलब २३ प्रतिशत मात्र खर्चिएको छ ।

पछिल्लो ४ बर्षमा सबैभन्दा कम कोरोनाको महामारी शुरु भएको बर्ष आर्थिक बर्ष ०७६/०७७ मा कम बजेट खर्चिएको देखिएको छ ।गाउँपालिका अध्यक्ष पाण्डेका अनुसार कोभिडका कारण विकास निर्माणका कामहरु प्रभावित हुँदा उक्त बर्ष निक्कै कम बजेट खर्च भएको हो ।

आर्थिक बर्ष ०७६/०७७ मा ४६ करोड ३५ लाख बजेट विनियोजन भएकोमा जम्मा ६१ दशमलब ८६ प्रतिशत अर्थात २८ करोड ६७ लाख खर्च भएको देखिएको छ ।जसमा चालुतर्फ १७ करोड ७५ लाख अर्थात ७१ दशमलब ३३ प्रतिशत र पूँजिगत तर्फ १० करोड ९२ लाख अर्थात ५० दशमलब ८८ प्रतिशत मात्र खर्चिएको देखिन्छ ।

त्यसैगरी आर्थिक बर्ष ०७७/०७८ मा ५३ करोड ३४ लाख बजेट विनियोजन गरिएकोमा ४० करोड ७९ लाख अर्थात ७६ दशमलब ४८ प्रतिशत मात्र खर्च भएको अध्यक्ष पाण्डेले बताइन् ।उक्त बर्ष चालुतर्फ २५ करोड १ लाख अर्थात ८३ दशमलब १७ प्रतिशत र पूँजिगततर्फ १५ करोड ७८ लाख अर्थात ६७ दशमलब ७३ प्रतिशत खर्चिएको देखिन्छ ।

यस बर्ष हुप्सेकोट गाउँपालिकाले चालुतर्फ ३१ करोड ७१ लाख ३९ हजार र पूँजिगततर्फ २३ करोड ८ लाख २० हजार गरी जम्मा ५४ करोड ७९ लाख बजेट विनियोजन गरेको छ ।यस बर्ष बजेट खर्च सत प्रतिशत पुर्याउने लक्ष्य राखिएको अध्यक्ष पाण्डेले बताइन् ।

हुप्सेकोट गाउँपालिकाले यस बर्ष उज्यालो हुप्सेकोट अभियान, बालमैत्री पालिका घोषणा, सबै वडा कार्यालयहरु आफ्नै वडा कार्यालयबाट सञ्चालनमा ल्याउने, रुद्रपुर गढीमा पर्यटकीय विकास कार्यक्रम सञ्चालन गर्ने जस्तो महत्वकांक्षी योजनाहरु अगाडि सारेको छ ।

https://www.youtube.com/watch?v=TUobLOIHRvM&t=15s



सम्बन्धित
Loading...