सबै नागरिकलाई खोप

कोभिड १९ को तेस्रो लहर शुरु भएको छ । यसले बालबालिकालाई समेत प्रभावित गरेको तथ्यांक बाहिर आइरहेको छ। नेपालमा समेत यसको प्रभाव देखिसकेको छ। १५ बर्ष मुनिका बालबालिकालमा समेत नेपालमा कोभिड १९ देखिन थालेको छ। कोभिड १९ बाट बच्ने एक मात्र उपाय सामाजिक दुरी कायम गर्नु हो तर, यसको अर्थ सधै बन्दाबन्दी गरेर मात्र सम्भव छैन ।
लामोसमयदेखि पटक पटक हुँदै आएको बन्दाबन्दीले नेपालको अर्थतन्त्र धरासायी हुँदै गएको छ भने गरी खाने वर्ग यसबाट सबैभन्दा बढी मारमा परेको छ । त्यति मात्र होइन विद्यालय नखुल्दा बालबालिकाको पठनपाठनमा ठूलो क्षति पुगेको छ। अनलाइन कक्षा सञ्चालन भए पनि यो खासै प्रभावकारी हुन सकेको छैन । त्यसैगरी भिडभाड हुने क्षेत्र पार्टी प्यालेस, चलचित्र हल, ठूला बजार अझै खुल्न सकेको छैन । यसले अर्थतन्त्र थप प्रभावित भएको छ।
सुस्ताउँदै गरेको आर्थिक कारोबार विस्तारै खुल्दै गरेको बजारले विस्तारै उठाउँदै गरेको भए पनि तेस्रो भेरिण्ट महामारीको रुपमा फैलिने तयारीमा रहेको अवस्थामा अब यसलाई रोक्ने एक मात्र विकल्प भनेको खोप हो। कोभिड १९ विरुद्धको खोप नेपालमा अबै जनताले पाउनु आवश्यक छ। कतिपय सामाजिक सञ्जालमा ‘पहिला खोप अनिमात्र भोट’ जस्ता मागले भरिएका छन् । शुरु शुरुमा खोप लगाउन आनाकानी गरेको भए पनि अहिले सबै उमेर समूह खोप लगाउन पाउनु पर्छ भन्ने पक्षमा देखिएका छन् । त्यसैले सरकारले जहाँबाट जसरी भए पनि खोप ल्याएर सबै नेपाली जनतालाई खोप लगाइदिएर उनीहरुको स्वास्थ्य अधिकार सुनिश्चित गर्नु आवश्यक छ।