महाधिवेशनमा संस्थापन इतर पक्षले साझा उम्मेदवार उठाउने
नेपाली काँग्रेसको संस्थापन इतर पक्षले पार्टीको आसन्न महाधिवेशनमा सहमतिमा साझा उम्मेदवार उठाउने सहमति गरेको छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा संस्थापन इतर पक्षका सभापतिका आकाङ्क्षीहरुबीच भएको छलफलमा सो सहमति भएको हो ।
आजको बैठकमा सभापतिको आकाङ्क्षी रहेका रामचन्द्र पौडेलसहित शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसीलगायतका नेताहरू उपस्थित थिए । नेताहरुबीचको छलफलमा १४ औँ महाधिवेशनमा संस्थापन इतरबाट सहमतिमा साझा उम्मेदवार तय गर्ने विषयमा सहमति नजिक पुगेको बैठकमा सहभागी बलबहादुर केसीले रातोपाटीलाई बताए ।
त्यस्तै, क्रियाशील सदस्यता विवादको विषयमा आफू पक्षीय जिल्ला सभापतिहरुले राखेको मागलाई सम्बोधन हुने गरी समाधान खोज्नुपर्ने पनि निष्कर्ष निकालेको छ । ‘संस्थापन पक्षले क्रियाशील सदस्यतामा धाँधली गरेकोमा चनाखो हुनुपर्ने बैठकको निष्कर्ष छ । पार्टी कब्जा गरेर अघि बढ्ने तयारी गरिएको आभास भइरहेको छ । सजग भएर लाग्नुपर्छ,’ उनले भने । बैठकले महाधिवेशन निष्पक्ष बनाउन जिम्मेवार भएर लाग्नुपर्ने पनि ठहर गरेको छ ।
क्रियाशील सदस्यताको विषय टुङ्गो लगाउन कृष्ण सिटौला, मिनेन्द्र रिजाल, रमेश लेखेकबीच बैठक आज नै बस्दैछ । सो बैठकमा त्यही अनुसार कुरा राख्न मिनेन्द्र रिजाललाई जिम्मा दिइएको छ ।
आजको बैठकमा सरकार सरकार सञ्चालन र मन्त्रिपरिषद् विस्तारको विषयमा पनि छलफल भएको केसीले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार शक्ति सन्तुलन मिलाएर मन्त्रालय बाँडफाँड गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने जिम्मा रामचन्द्र पौडेललाई दिइएको छ ।