गण्डकी प्रदेशको १६ करोड असारे बजेटमा अनियमितता ! अनुगमन गर्दै सर्वदलिय समिति
नवलपुर । गण्डकी प्रदेशमा कृष्णचन्द्र पोख्रेल नेपालीको नेतृत्वमा गठन भएको सरकारले असारको अन्तिममा हतार हतार गरेर वितरण गरेको १६ करोड बजेटमा अनियमिता भएको पाइएको छ ।
प्रदेश सरकारले असार सकिन केही दिन बाँकी रहँदा बाटो–घाटो निर्माण, विद्यालयको भौतिक संरचना निर्माणको नाममा उक्त रकम पठाएको थियो ।
५ लाखदेखि २० लाखका दरले १६ करोड रकम गण्डकी प्रदेशका सबै जिल्लामा खास गरी नेपाली काँग्रेसको प्रभावित क्षेत्रमा वितरण गरिएको थियो ।
उक्त बजेट मुख्यमन्त्री पोख्रेल निर्वाचित नवलपुरको गैडाकोट क्षेत्रमा सबैभन्दा बढी वितरण गरिएको थियो ।
उक्त बजेट वितरण पछिको भएका काममा अनियमितता भएको भन्दै प्रदेश स्तरीय सर्वदलिय समितिले अनुगमन शुरु गरेको छ ।
टोलीले तनहँु, स्याङजा र कास्कीको अनुगमन सकेको छ । केही दिनमा नवलपुरमा पनि अनुगमन गर्ने तयारी भईरहेको छ । सर्वदलीयमा सहभागी एक जना सदस्यका अनुसार असार मसान्त भित्र काम सक्ने गरी असार १५ गते वितरण गरिएको १६ करोड बजेटको अधिकांश काम कागजमा देखिए पनि फिल्डमा देखिएको छैन ।
टोलीले अनुगमन सकेर केही दिनमै प्रतिवेदन बुझाउने तयारी समेत गरेको छ ।
