मोबाइल, ल्यापटप र घडी चोरी गर्ने एक नाबालकसहित दुई जना पक्राउ


भरतपुर, १८ भदौ । एटुजेड मोबाइल हाउसको टाँडीस्थित शोरुमबाट मोबाइल, ल्यापटप र घडी चोरी गर्ने एक नाबालकसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक नाबालक र मकवानपुर राक्सिराङ गाउँपालिका–४ घर भई हाल खैरहनी नगरपालिका–१ ज्यामिरे बस्ने २२ वर्षीय कृष्ण तामाङ रहेका छन् ।



नाबालकको पहिचान गोप्य राखिएको छ । उनीहरुलाई भदौ १७ गते राती १ बजेको समयमा खैरहनी–२ सिमलघारीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट विभिन्न कम्पनीका मोबाइल १९ थान, ल्यापटप एक थान, घडी चार थान र चोरीमा प्रयोग भएको एउटा साइकल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिए । उनीहरुलाई तीन वर्ष कैद र तीस हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ ।




भदौ १२ गते बिहान उक्त मोबाइल हाउसको शोरुमबाट विभिन्न कम्पनीका मोबाइल १९ थान, डमी मोबाइल १२ थान, ल्यापटप एक थान र घडी ४ थान चोरी भएको थियो ।

रत्ननगर नगरपालिका–२ टाँडी बजारस्थित रहेको एटुजेड मोबाइल हाउसको तीनतले भवनको भुईतलामा रहेको सटरको चाबी रडले फोडेर करिब ६ लाख ३३ हजार रुपैयाँ बराबरका मोबाइल, ल्यापटप र घडी चोरी भएको भनि पसल सञ्चालक दिवाकर गुरुङले जाहेरी दिएका थिए ।

 

 



सम्बन्धित
Loading...