रिपोटरको डायरी: बाढीको कहर – त्रासदिपूर्ण त्यो मध्यरात सम्झिँदा

हरि शर्मा –
नवलपरासी – भदौं ११ गते शुक्रबारको मध्यरात । मस्त निद्रामा रहेका बेला घरीघरीको बिजुलीसहित चम्केको चट्याङ्गको आवाजले झस्किदैं ब्युझिँन्थे । ब्युझिँदा बाहिर दरर्किदैं गरेको पानीको आवाज ठूलै सुनिने गरेको थियो । एक्कासी श्रीमतीले ‘बाहिर हल्ला छ उठ्नुस्त’ भनेपछि झ्यालबाट बाहिर नियाले । छिमेकीहरु बाढी आयो उठनुु् भन्दै चिच्चाहट गर्र्दै थिए । ज-याएक झुरुक उठ्दै हेरेको मोबाइलको घडीले रातको साढे २ बजाएको थियो । ढोका खोलेर हेर्दा बाढी घर अगाडीको सडकमाथि आइसेको थियो ।
म एक्कासी आत्तिए । के गरौं, के नगरौं । कहिले भित्र त कहिले बाहिर गर्न थाले । श्रीमतीले छोराछोरीलाई उठाइन् । बाढीभित्र पस्न थालेपछि मलाई घरको सामान भन्दा पहिला सञ्चार सामाग्रीको याद आएछ । हत्तपत्त गाडीको चाँभी खोलेरभित्र रहेको डिएसएलआर क्यामरा निकाले ( पानी गाडीको चक्कासम्म आइसकेको थियो । घरभित्र भएका सामान बगाउन नपाओस् र सर्पलगायतका विषालु जीव भित्र नपसुन् भनेर चारैतर्फका जाली ढोका लगाए । भित्र जाँदा श्रीमती र छोराछोरीले सानो बक्स पलङलाई उठाएर अर्को पलङमाथि चढाउँदै थिए ।
मैले हत्तपत्त ल्याबटप उठाए । बाढी कोठाहरुमा छिरिसकेको थियो । योसँगै मेरो होसहवासै हराउन थालेको थियो । ४ जना परिवार मिलेर किचनभित्र रहेको करिब ५० केजी चामल डाइनिङ टेबेलमाथि राख्यौ । वर्षभरी भनेर राखेको अरु १ क्विण्टल जति चामल जोगाउन सकिएन । हामी पुन: सुत्ने कोठामा गएर पलङको डसना उठाएर दराजमाथि राख्न नपाउँदै पानी घुँडादेखि माथि आउन थालिसकेको थियो । कोठाको ढोका लागेको रहेछ । ३ जना परिवारलाई बाहिर निस्कन भन्दै ढोका खोल्न पुगे । बाढीले कार्पेट तैरिन थालेको थियो । पानीको बेग र कार्पेटको रोकावटले जति बल लगाएपनि ढोका खोल्न सकिन ।
यतिबेलासम्म पानी कम्मर तल आइसकेको थियो । ४ जना भएर ढोका खोल्न थाल्यौं । ढोका पटक्कै खुलेन । चारै जना आत्तियौं । कोठामै डुबेर मरिने भय हामी चारैजनामा भयो । सायद भयको बलले होला चारैजनाको जोडबलले ढोकालाई थोरै खोल्न सफल भयौं । ढोकाको साँघुरो ठाउँबाट कम्मरसम्म आइसकेको पानीलाई छिचोल्दैं एकसरो हाफ पाइण्ट र टिसर्टमा छतमा जाने क्रममा म ३ पटक कोठामै चिप्लिएर लडे । दुई छोराछोरीलाई समातेर छतको सिँडीमा जाने क्रममा श्रीमती पानी छिचोल्दैं किचन भित्र पसिन् ।
हामीले रोक्यौं । अटेरीगर्दै फ्रिजभित्र हिजो साँझ राखिएको मटर/काक्राको अचार र माथि राखेको भूजा लिएर आइन । ‘ज्यानभन्दा खानाको चिन्ता छ’ भन्दै मैले श्रीमतीलाई हपारे । छोराछोरीले पनि सही थापे । हामी छतको सिँडीमा पुग्यौं । बाहिर घनघोर पानी परिरहेको थियो । एकतले घर भएकाले छतमा गएर बस्न सक्ने अवस्था थिएन । हामी सिँडीको मोडमा हुने केही फराकिलो ठाउँमा बस्यौं । सडकमाथि आएको पानी १० मिनेटको अन्तरकालमा कोठाभित्र पसेर वितण्डा मच्चाएको थियो । बिजुली गएकाले बाहिर अन्धकार थियो । मोबाइलको लाइट बालेर सिँढी तल हेर्दा पानी झन बढ्ने क्रममा थियो । म आत्तिदैं सुरक्षा निकायमा फोन गर्न मोबाइल डायल गरे । नेटवर्क थिएन । घरीघरी नेटवर्क आउथ्यो ।
त्यही मौकामा प्रमुख जिल्ला अधिकारी, एसपी, डिएसपी र नगरप्रमुखलाई डुबानमा परेर सिँढीमा बसेको सुनाए । सुरक्षा निकायको कार्यालय र नगरप्रमुखको निवासका मेरो घरदेखि तल रहेको डेढ कि.मि.को दुरीमा छ । तल भएकाले त्यहाँ डुबान छैन भन्ने सोँच थियो । त्यहाँ पनि डुबान सुरु हुन लागेको रहेछ । मैले टोलमा जमेको पानीलाई निकास दिन स्काभेटरबाट पिच सडक काटिदिन आग्रह गर्दै थिए । सडकमै पानी धेरै भएकाले त्यो संभव भएन । उद्दारका लागि टोली पठाइदिने सिडीओ र एसपीबाट आश्वासन पाए । तर उद्दारको गाडी पनि पानीका कारण सडकमै फसेको जानकारी पाए । घरीघरी सिँढीतलको पानी हर्दै गरेको थियो । पहिलाको भन्दा पानी बढेको थिएन न त घटेको नै । कहिले बिहान होला भन्ने अत्यास थियो । मलाई बिहान गराउन २० वर्ष लागेजस्तो भान भयो ।
त्रासका बीच बिहानको ६ बज्यो । पानी परिरहेको थियो । छाता ओढेर बाहिर नियाले । जतासुकै जलमग्न । सबैजना घरको छतमाथि । मानविय क्षति नभएको जानकारी पाएर होला उद्दारमा आएको सुरक्षा निकायको टोली सडकमा बसेर नआत्तिन इशारा मार्फत आश्वासन दिदैं थिए ।
आफू त्रासमै रहेपनि बाढी र प्रभावित स्थानीयका बारेमा सूचना दिन मेरो पेशागत जिम्मेवारी र कर्तव्य ठाने । मैले जिल्लाको बाढीको अवस्थाका बारेमा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामासँग सम्पर्क गरे । पूरा विवरण आइ नसकेको जानकारी पाए ।

छाता ओढेर छतबाट जलमग्न भएको फोटो मोबाइलमा कैद गरे । वाइफाई बाढीमा डुबेकाले डाटा खोलेर फोटो र बाढीको सामान्य जानकारी मोबाइलमै टाइप गरेर कार्यरत सञ्चार माध्यमका अनलाईनमा पठाए । मध्यान्ह १२ बजेपछि बाढी सामान्य घट्न थाल्यो । केही राहत महशुस भयो । दिनभर खानाको ठेगान नहुने भन्दै श्रीमतीले फ्रिजबाट ल्याएको काक्राको बासी अचार र भूजा दिइन् । भोक मेटाउन त्यही खानेकुरा काम लागेको देख्दा श्रीमतीलाई बिनासित्तै हपारेको भन्दै मनमनै पश्ताचाप गरे ।
खाना मन नभएपनि जसोतसो पानी सँग निले । पानीका ४ बोत्तल पहिले नै सिँढीमै रहेकाले राहत भयो । छिमेकीका बालबच्चाहरु भोक लाग्यो भन्दै रुदैं गरेको आवाज सुने । मैले छिमेकीलाई ‘अचार र भूजा छ । के गरी पठाउँ ’ भने । पानी तरेर आउने अवस्था थिएन । बालबच्चाहरुको रुवाई सुनेर मैले फेरि सोधे ‘के खान दियौं । ’जवाफमा छिमेकी राधा बैनीले भनिन् ‘५ पिस विस्कुट थियो त्यही बाँडेर दिए । उनीहरुको दोस्रो तलामा भएपनि भान्सा कोठा तल्लोमा भएकाले केही पनि निकाल्न पाएका थिएनन् ।
बासी अचार र भूजा अनि छिमेकीका बालबच्चाको भोकको छटपटीले मलाई राहतको याद आयो । रिपोटिङका क्रममा थुप्रै प्रकोप प्रभावितहरुलाई राहत कार्यक्रममा गइएको छ । मलाई लाग्थ्यो ‘यति राहतले के हुन्छ ?’ तर राहत साँच्चै राहत रहेछ । खाने कुरा नभएर ति रोइरहेका बालबच्चाहरुलाई कसैले जसोतसो तत्काल खाने कुरा पु¥याउन सकेको भए । भोक मेटाउन त सकिन्थ्यो । म आफैंले अचार र भूजा लान नसकेको भए त्यस बेला पाउने खाने कुराले कति महत्व राख्थ्यो । अहिले राहतको आवश्यकता र महशुस गर्न थालेको छु । यो बाढीसँगै अहिले पनि स्थानीय तहले राहत वितरण गर्न थालेका छन् । राहत वितरणका फोटोहरुमा धेरैले कमेण्ट लेख्छन् ‘यति राहतले के हुन्छ ?’ राहत सधैंका लागि होइन तत्कालका लागि जीवन धान्नका लागि हो भनेर बुझ्न जरुरी ठानेको छु ।
कोठाहरुमा डेढ फिटजति बाढीले ल्याएको लेदो जमेको थियो । सुरक्षित राख्न सफल भएको डसना र लगाएको कपडाबाहेक अरु लत्ताकपडा थिएनन् । पत्रकार महासंघको जिल्ला अध्यक्षको हैषियतले प्रहरी युक्ति तालिम महाविद्यालयमा आयोजना गरिएको दिक्षान्त कार्यक्रममा आमन्त्रण गरेपनि लगाउने कपडा नभएर उपस्थित हुन सकिएन । घरमा बस्न सक्ने अवस्था थिएन । दुई रात छिमेकीको घरमा बितायौं । बल्लतल्ल एउटा कोठा सफा गरेर बसेका छौं । बाढीको लथालिङ मिलाउन कम्तीमा १०/१२ दिन लाग्ने देखेको छु । बाढीबाट नवलपरासीका १४ जना पत्रकारहरु प्रभावित छन् । जसमा ७ जना अति प्रभावित भएका छन् ।
जिल्लामा यसअघि पनि बाढी आउने गरेको थियो । तर यो वर्षको बाढी अहिलेसम्मकै ठूलो रहेको स्थानीय बुढापाकाहरुको भनाईबाट जानकारी भएको छ । यसवर्षको बाढीले सबैभन्दा बढी परासी सदरमुकाम प्रभावित रहन पुग्यो । बाढीले विपन्न समुदायका घर बगाएका छन् । सरकारी कार्यालयहरु पनि डुबानमा परे । बाढीले ३ जनाको मृत्यु भएको छ । १ जना अझै बेपत्ता छन् । बाढीले ठूलै नोक्सानी पु¥याएकाले अहिले पनि क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।