परासीमा अल्पमतको गुटले अधिवेशनमै भाग लिएन




हरि शर्मा –
परासी । पश्चिम नवलपरासीमा भएको नेपाली कांग्रेस वडा अधिवेशनमा अल्पमतमा परेको गुटले अधिवेशनमै भाग लिएका छैन ।

मतदाता संख्याको अन्तर धेरै रहेका वडाहरुमा उमेदवारी दिएपनि हारिने भएपछि अल्पमतमा रहेका नेतादेखि कार्यकर्ताहरु मतदान केन्द्रमै पुगेका थिएनन् । अल्पमतको गुट नआएपछि अर्को गुट एकलौटी निर्विरोध भएको एक जिल्ला नेताले बताए ।




अल्पमत बाहेकका केही वडामा पनि निर्विरोध भएको छ । त्यसरी निर्विरोध भएका वडामा भागबण्डा गरिएको छ । तर निर्विरोध भएका अधिकांश वडाहरु एउटा गुटको हाबी भएका छन् । थोरै संख्याको अन्तर भएका वडामा मात्र निर्वाचन भएको छ ।

जिल्लामा प्रतिनिधिसभा सदस्य एंव केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र संविधानसभा सदस्य विक्रम खनालको गुट छ । जिल्ला नेतृत्व आफ्नो पक्षमा हत्ताउन उनीहरुको अहिले वडामा होडबाजी भएको हो । मतदान केन्द्रमा पुगेका एक नेताले गुटको प्रतिस्पर्धा देखेर आक्रोश हुँदै भने ( ‘यहाँ कोही पनि कांग्रेस रहेन छन् । कोही मुन्ना बाबु, कोही विक्रम बाबु ।’ जिल्लामा कँडेल ‘मुन्ना बाबु’ नामले परिचित छन् । उनले गुटले कांग्रेस बर्बाद हुन लागेको भन्दै चिन्ता व्यक्त गरे ।

जिल्लाका ७ स्थानीय तहमा ७४ वडा छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत जिल्लाका सबै वडामा शुक्रबार निर्वाचन प्रकृया सुरु भएको जिल्ला निर्वाचन अधिकृत बाबुराम पाण्डेले बताए ।

अधिवेशनका लागि करिब १० हजार क्रियाशिल सदस्य मतदाता रहेको पाण्डेले जानकारी दिए । उनीहरुले वडा समिति र क्षेत्रिय प्रतिनिधि चयन गर्ने छन् । ‘अधिकांश वडामा निर्वाचन भएको छ । केहीमा निर्विरोध र कही स्थगित भएको छ ।’ पाण्डेले भने ।

एउटै व्यक्तिले दुई पदमा उम्मेदवारी दिएको, नामावली नमिलेको लगायतका उजुरी परेपछि केही वडामा निर्वाचन स्थगित भएको उनले जानकारी दिए ।

 

 



सम्बन्धित
Loading...